बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका १२ गमहरियामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको ना ६ ख १९२७ नम्बरको बसले हिजो बेलुकी ८ बजे पैदल हिंडिरहेका स्थानीय ४५ वर्षीय राम उगर राय र मलंगवा ११ का ३८ वर्षीय श्याम नन्दन रायलाई ठक्कर दिएको थियो । घाइते भएका दुवैलाई उपचारको जिल्ला अस्पताल मलंगवा पठाइएको थियो । उपचारकै क्रममा श्याम नन्दन रायको मृत्यु भएको जनाइएको छ ।

त्यस्तै, मोरङको विराटनगर महानगरपालिका ४ जामुनगाछीमा हिजो बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पैदलयात्री स्थानीय ३० वर्षीया जस्मी बस्नेत र मोटरसाइकलमा पछाडी सवार सुनसरीको ईटहरी उपमहानगरपालिका घर भएका २२ वर्षीय मौसम बन्जारा रहेका छन् ।घाइते दुवैलाई उपचारको लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हिजो बेलुकी साढे ८ बजे पैदल हिडीरहेकी बस्नेतलाई ठक्कर दिएर को ३० प ३० नम्बरको मोटरसाइकल पल्टिएको थियो ।

त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका १ मा हिजो बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा २ जना गम्भीर घाइते भएका छन् । हिजो बेलुकी ८ बजे त्रियुगा नगरपालिका ११ प्रगतिटोलका ४६ वर्षीय कर्ण सुन्दासलाई ठक्कर दिएर प्रदेश १–०५–००१ प ३५९२ नम्बरको मोटरसाइकल पल्टिएको थियो । पैदलयात्री सुन्दास र मोटरसाइकल चालक त्रियुगा नगरपालिका १३ राई चोकका २९ वर्षीय बिरेन राई घाइते भएका हुन् । घाइते दुवैको उपचार जिल्ला अस्पताल उदयपुरमा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।