सिरहा । मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।

सिरहाको औरही गाउँपालिका ५ मा हिजो साँझ साढे ६ बजे प्रदेश २–०३– ००४ प ७०६४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँमा बस्ने पैदलयात्री ६० वर्षीय बालेश्वर यादव घाइते भएको र उपचारको लागि जिल्ला अस्पताल पठाइएको प्रहरी चौकी औरहीले जनाएको छ ।

मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका ३ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन् । सुनसरीको रामधुनी नगरपालिका ६ का ३३ वर्षीय दिनेश भण्डारी घाइते घाइते भएका हुन् ।

घाइतेलाई उपचारको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । हिजो बेलुकी पौने ८ बजे को २६ प २१ नम्बरको मोटरसाइकलले भण्डारी सवार रहेको साइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिइसकेको छ ।