एजेन्सी

काठमाडौं : कंगोको उत्तरी किभु प्रान्त-प्रजातान्त्रिक गणतन्त्र कंगोको एक रेस्टुरेन्टमा भएको विस्फोटमा ६ जनाको मृत्यु भएको छ।

 

कंगोको उत्तरी किभु प्रान्तको एक रेस्टुरेन्टको बारमा सो विस्फोट भएको थियो। सैनिक क्याम्प छेउमा रहेको रेस्टुरेन्टमा विस्फोट भएकाले आक्रमणको निशानामा सैनिकहरु रहेको हुनसक्ने जनाइएको छ।

 

विहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ। घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ।

सो विस्फोटका कारण रेस्टुरेन्टमा पनि ठूलो क्षति पुगेको छ।

 

कंगोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले सो जानकारी दिएका छन्।

उनले भने– ‘घाइतेहरुको अवस्था गम्भीर छ, विस्फोटका बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ।’ सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा अहिले नै केही पत्ता नलागेको उनले बताए।