काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन महिनामा झण्डै १० किलो सुन बरामद भएको छ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार माघ १९ गते यता ९ किलो ८४७.४० ग्राम सुन बरामद भएको हो।

यो मध्ये अधिकांश विदेशबाट आउने नेपालीले अवैध रुपमा ल्याएका हुन्। यसरी सुन ल्याउने १४ जना पक्राउ परेका छन्।

ती मध्ये एक जना बंगलादेशी र एक जना भारतीय नागरिक छन्। बाँकी १२ जना नेपाली नै हुन्।

यो अवधिमा तीन जना विदेशी नागरिक विदेशी मुद्रा अपचलनको मुद्दामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा २ जना भारतीय र एक जना पाकिस्तानी नागरिक छन्।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयले शुक्रबार तीन महिने कार्यप्रगति सार्वजनिक गरेको हो।

विमानस्थलमा भएका सुधारका व्यवस्थालाई पनि थप मजबुद बनाइएको एसएसपी भीमप्रसाद ढकालले बताए। भौतिक पुर्वाधार, अन्य श्रोत साधान व्यवस्थापन, सुरक्षा चेकजाँचमा थप प्रभावकारिता, प्रहरीको आचरणमा सुधार गरिएको एसएसपी ढकालले बताए।