धनगढी : कैलालीको मोहोन्याल–१ मा हँसिया प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । ३२ वर्षीया चुमा थापामगरले हँसिया प्रहार गर्दा ४३ वर्षीय नारायण थापामगरको मृत्यु भएको हो ।

आइतबार राति १२ बजेको समयमा दुई जनाबीच विवाद हुँदा चुमाले हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

हत्यापछि चुमा आफै प्रहरी कार्यालय पुगेकी हुन् । अहिले थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।

चुमा र नारायणबीच लामो समयदेखि विवाद रहेको प्रहरीले जनाएको छ।