विराटनगर : मोरङको जहदा गाँउपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार गाँउपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले श्रीमती पानो टुडुलाई कुटपिट गरी हत्या गरेका हुन्। सोरेनले ३२ वर्षीया टुडुलाई चैत्र २९ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुनेगरी कुटपिट गरेका थिए ।
उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएकी टुडुको बिहीबार राति करिब ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
फरार रहेका सोरेनको खोजी भइरहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
Discussion about this post