काठमाडौँ : युक्रेनको राजधानी सहर किभ क्षेत्रबाट रुसी सेना फिर्ता गएसँगै पछिल्लो एक सातामा ९ सय आम मानिसको शव फेला परेको छ।

किभ क्षेत्रका प्रहरी प्रमुखले शुक्रबार यस्तो जानकारी दिएका हुन्।

रुसले भने किभको बाहिरी क्षेत्रमा रहेको एन्टि एयरक्राफ्ट र एन्टि सिप बनाउने एक कारखानालाई निशाना बनाएर आक्रमण गरेको आरोप लगाएको छ।

यसअघि रुसले बुधबार भएको विष्फोटपछि आफ्नो युद्धपोत मोस्कभा समुद्रमा डुबेको बताएको थियो।

युक्रेनले भने काला सागरमा रहेको रुसको यो युद्धपोत आफ्नो मिसाइल प्रहारबाट ध्वस्त भएको र त्यसैको कारण डुबेको दाबी गरेको छ।

रुसी रक्षा मन्त्रालयले युक्रेनले रुसी क्षेत्रलाई लक्षित गर्दै आक्रमण बढाएको अवस्थामा किभमाथिको आक्रमण झन् तीव्र बनाइने चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसंघले रुसले युक्रेनमाथि गरेको आक्रमणको कारण करिब ५० लाख मानिस घरबारविहीन बनेको बताएको छ।

किभका प्रहरी प्रमुख आन्द्रे नेबितोभले सञ्चारकर्मीहरुसँगको कुराकानीमा किभ क्षेत्रमा भेटिएका ९ सय शवलाई फरेन्सिक जाँचको लागि पठाइएको र उनीहरु सबैको मृत्यु रुसी आक्रमणमा भएको बताएका छन्।

नेबितोभका अनुसार ३५० भन्दा धेरै शव बुचा सहरमा फेला परेका छन्।

युक्रेनले रुसमाथि युद्ध अपराधको आरोप लगाएको छ। यद्यपि रुसले भने यो आरोप अस्वीकार गर्दै आएको छ।