काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महानगर र उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि बैठक बोलाएका छन् ।

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनका लागि कांग्रेसले अपरान्ह २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठकमा उपस्थित हुनका लागि पदाधिकारी सबैलाई बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । एमालेले पनि उम्मेदवार छान्न सचिवालय बैठक बोलाएको छ ।

एमालेले अपरान्ह ३ बजे बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक बोलाएको हो ।

दलहरू आज देशका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउने तयारीमा छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलिदेखि उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुँदैछ ।