प्रयागराज : उत्तर प्रदेशको प्रयागराजमा एकै परिवारका पाँच जनाको शव फेला परेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय राजकुमार यादव, उनकी २५ वर्षीया छोरी मनिषा, उनकी श्रीमती कुसुम, बुहारी सविता र दुई वर्षीया नातिनी मिताक्षी रहेका छन् ।

राजकुमारका छोरा सुनिल घरमा नभएको बेला शुक्रबार राति यो घटना भएको प्रहरीले पीटीआईलाई बताएको छ। उनी बिहेमा गएका थिए ।

यस घटनाको सम्बन्धमा गंगापार थार्भई प्रहरी चौकीमा उजुरी परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा कुकुर टोली र फरेन्सिक टोली पुगेर अनुसन्धान भइरहेको र सबै प्रमाण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रयाग्रत एसएसपीले थरवाईमा भएको घटनाबारे विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘आज बिहान साढे ५ बजेतिर एक घरमा करिब चार–पाँच व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीलाई जानकारी भयो ।’

‘सूचना लगत्तै प्रहरी टोली, कुकुर टोली, उच्च अधिकारी सबै घटनास्थलमा पुगेका थिए। म पनि घटनास्थलमा पुगेँ। यस परिवारका प्रमुख राजकुमार यादवकी पाँच वर्षीया नातिनी जीवितै छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।’

अनुसन्धानका लागि सात जनाको टोली गठन गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मृतकलाई धारिलो हतियार प्रयोग गरिएको पाइएको छ। प्रहरीका ती अधिकारीले भने, ‘शवको पोष्टमार्टमपछि धेरै कारणहरु बाहिर आउनेछन् । कुनै पनि दोषीलाई उन्मुक्ति दिइने छैन।’