वीरगञ्ज : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवारीमा महिलाहरुले संविधान अनुसार पाउनु अधिकार समेत नपाएको भन्दै पर्साको वीरगञ्नमा विरोध प्रदर्शन गरेका छन् ।

शनिबार महिलाहरुले संविधानप्रदत हकलाई जालझेलपूर्ण तरिकाले खोसिएको भन्दै महिला नेताहरुले वीरगञ्जमा विरोध प्रदर्शन गरेका हुन् ।

वीरगन्ज महानगरपालिकामा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको तालमेलले स्थानीय तह प्रमुख वा उपप्रमुखमध्ये एक जना अनिवार्य महिला नै हुनुपर्ने स्थापित भइसकेको अभ्यासलाई समेत विस्थापित गर्नु दुर्भाग्यपूर्ण रहेको आन्दोलित महिलाहरुको ठहर छ ।

वडा सदस्य पद बाहेक स्थानीय तहको निर्वाचनमा महिलालाई कुनै पनि पदमा उम्मेदवार नबनाइएको भन्दै वीरगन्जमा विरोध प्रदर्शन भएको हो ।

विभिन्न राजनीतिक दलमा आवद्ध महिला नेता तथा र कार्यकर्ताहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । घण्टाघरबाट सुरु भएको सो विरोध जुलुश नगरको विभिन्न भागको परिक्रमा गर्दै पूनः घण्टाघर चोकमैं आइ कोणसभामा परिणत भएको थियो ।