ट्युनिस : ट्युनिसियाको पूर्वी तटबाट १२० जना आप्रवासी बोकेका चारवटा डुंगा डुब्दा कम्तीमा १२ जना आप्रवासी शरणार्थीको मृत्यु भएको छ।

घटनामा अन्य १० जना हराइरहेको प्रारम्भिक जानकारी रहेको ट्युनिसियाको निजी रेडियो स्टेसन मोसाइक एफएमले आइतबार सरकारी अधिकारीलाई उद्धृत गरी लेखेको छ।​

रेडियाका अनुसार, डुंगामा सवार ९८ जना आप्रवासीलाई स्फ्याक्स सहरको तटबाट उद्धार गरिएको छ र हराएका आप्रवासीहरूको खोजी अझै चलिरहेको छ।

पीडितहरू भूमध्यसागर पार गरेर इटाली जाने प्रयास गरिरहेका समय खराब मौसमका कारण डुंगा दुर्घटना भएको हो।

गैरकानुनी आप्रवासीहरूको हजारौँको सङ्ख्याले हरेक वर्ष भूमध्यसागर पार गर्ने प्रयास गर्छन्। ट्युनिसिया अवैध रूपमा युरोप छिर्ने केही मुख्य नाकाहरूमध्ये एक हो। राससरसिन्ह्वा