काठमाडौं : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नेकपा एमाले र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ।

एमालेसँग दुई र जसपासँग दुई स्थानीय तह गरेर कुल चार स्थानीय तहमा लोसपाले तालमेल गरेको हो। बाँकी स्थानीय तहमा भने लोसपाले एकल उम्मेदवारी दिएको छ ।

 

महोत्तरीको बर्दिवास नगरपालिका र वीरगञ्ज महानगरपालिकामा एमालेसँग तालमेल भएको लोसपाका नेता केशव झाले जानकारी दिए । बर्दिवास नगरपालिकामा मेयर एमालेलाई दिएर उपमेयर लोसपाले लिएको छ।

यस्तै वीरगञ्ज महानगरमा मेयर एमाले र उपमेयर लोसपाले लिएको छ।

झाका अनुसार जनता समाजवादी पार्टी र लोसपाबीच दुई स्थानीय तहमा तालमेल भएको छ। जसमा कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा लोसपा र उपाध्यक्ष जसपाले लिएको छ।

कञ्चनपुर बेलौरी नगरपालिकाको मेयरमा लोसपाको उम्मेदवार हुँदा उपमेयर जसपाले पाएको छ ।

लोसपाले देशभरका कुल १८० स्थानीय तहमा उम्मेदवारी दिएको छ । ती स्थानीय तहमा अधिकांश मधेसकै पालिकाहरु रहेका छन् ।