काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस चुनावी घोषणापत्रबारे दिएको प्रतिक्रियालाई ‘लाज छोप्न रचिएको निन्जा टेक्निक’को संज्ञा दिएका छन् ।

उनले ओलीको टिप्पणीलाई मनगढन्ते र कुण्ठाको पराकाष्ठाको उपमासमेत दिएका छन् ।

‘कांग्रेस घोषणापत्रको बारेमा ओलीको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो,’ नेता पौडेलले ट्विटरमा लेखेका छन्, ‘राजनीतिक मर्यादाको सामान्य हेक्का नराखी खर्चिएका शब्द कुण्ठाका पराकाष्टा हुन् ।

आफ्नो सरकारले गरेका काण्डहरूलाई जति बचाउ गर्छन् उति नाङ्गिदै जान्छन्, सस्ता कुराले रक्षात्मक बनाउँछ ।’

ओलीले मंगलबार काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘गालीबाहेक केही नभएको’ र ‘पागलहरूको प्रलाप’ भनेर टिप्पणी गरेका थिए ।

 

उनको टिप्पणीपछि कांग्रेस नेताहरूले सामाजिक सञ्जालबाट जवाफ दिइरहेका हुन् । साथै, ओलीले गरेको सो टिप्पणीको जवाफ दिन कांग्रेसले पत्रकार सम्मेलन पनि गर्दैछ ।

कांग्रेस महामन्त्री एवं निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले ओलीको टिप्पणीको जवाफ दिन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।