काठमाडौं : सप्तरीमा एक महिलामाथि निर्घात कुटपित भएको छ। रुपनी गाउँपालिका–६ की २७ वर्षीया लक्ष्मीनियाँकुमारी भगतलाई दाइजो नल्याएको भन्दै श्रीमान्, सासू र ससुराले निर्धात कुटपित गरेका हुन्।
परिवारका सदस्यको कुटपिटबाट गम्भीर घाइते भएकी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो। यतिबेला उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।
भगतको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ। आइतबार राति साढे ७ बजतिर उनीमाथि कुटपिट भएको बताइएको छ।
तँलाई मारिदिन्छु भन्दै ससुरा शिवदयाल भगत, पति सञ्जीवकुमार भगत, सासू सीतादेवी, जेठानी अञ्जु, नन्द रञ्जु, गाउँकै नाता पर्ने बिणाले कुटपिट गरेको पीडितले बताएकी छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले कुटपिटमा संलग्न लक्ष्मीनियाँका ससुरा शिवदयाललाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको बताएका छन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
Discussion about this post