काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३ सय ३२ ग्राम सुनसहित पाँच जना पक्राउ परेका छन्। दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमानभित्र सरसफाइ गर्ने क्रममा शौचालयभित्र सुन फेला परेको हो।

सुन भेटिएपछि खोजबिन गर्ने क्रममा पाँचथर याङवरक गाउँपालिका ४ का २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका ५ का २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका २ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका २ का ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरूंगा नगरपालिका ४ का ३६ वर्क्षीय ताराकान्त चौधरी पक्राउ परेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

उनीहरु विमानस्थलबाट बाहिर निस्कने क्रममा पक्राउ परेका हुन्। उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप तीन जना संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।