पर्सा : पर्सामा १२ बोरको १ नाले धरेलु बन्दुक सहित एकजना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ औराहाका २७ वर्षीय सल्टु महतो रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

महतोलाई शुक्रवार विहान पक्राउ गरिएको छ ।

बिहिवार राति सखुवाप्रसौनी–१ स्थित औराहा गाउँ बस्ने मंगलबहादुर भ्लोनको घरबाहिर गोली पड्किँदा उनको बाँसको टाटीमा माटोले लिपेको बेरा भएको घरको पश्चिमपट्टिको बेराबाट गोली प्रवेश गरी घरभित्र रहेको चामलको बोराभित्र १ राउण्ड गोली फेला परेको घटनामा अनुसन्धानको क्रममा महतोलाई पक्राउ गरिएको हो ।

प्रहरीले उक्त घटनामा अनुसन्धान गर्दा महतोको संलग्नता रहेको खुलेपछि घरठेगानाबाट भाग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका छन् ।

महतोको घरमा खानतलासी गर्दा घरनजिकै खाली जमिनमा रहेको नालीमा लुकाइछिपाई राखेको १२ बोरको १ नाले घरेलु बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।