काठमाडौँ : क्युबाको पाँच तारे होटलमा भएको ठूलो विष्फोटमा परी २२ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा धेरै घाइते भएका छन्।

बीबीसीका अनुसार क्युबाका पुरानो हाभानास्थित साराटोगा होटलमा शुक्रबार ठूलो विष्फोट भएको हो। जसको कारण होटलको केही तला ध्वस्त भएका छन्।

समाचारमा उल्लेख गरिएअनुसार होटलअघि पार्क गरेर राखिएको ग्यास ट्यांकरमा भएको विष्फोटको कारण होटलमा क्षति पुगेको हो। उक्त ऐतिहासिक होटल कोरोना महामारीपछि अबको चार दिनमा खुल्ने तय भएको थियो।

अहिले होटलमा पुरिएका र बेपत्ता भएका मानिसहरुको खोजी कार्य चलिरहेको छ। क्युबाका राष्ट्रपतिले विष्फोटमा परी मृत्यु हुनेमा एक गर्भवती महिला र एक बालक रहेको बताएका छन्।

विष्फोटको कारण होटलमा ठूलो क्षति पुगे पनि त्यसको ठीक पछाडि रहेको विद्यालयमा भने कुनै क्षति पुगेको छैन। विद्यालयका सबै बालबालिकालाई सुरक्षितरुपमा निकालिएको छ।