दाङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज घोराही र तुलसीपुर आउँदैछन्। उनी दाङ आउने खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा जुत्ता हान्छु भन्दै स्टाटस लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.३ निवासी यज्ञबहादुर बुढामगर रहेका छन्।

बुढामगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

बुढामगरले तुलसीपुरबाट राप्ती पहिचान डटकम सञ्चालन गर्दै आएका छन्।

गठबन्धन दलहरूले आइतबार तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा गर्दैछ।

ती कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेता आउँदैछन्।

मगरले आफ्नो सामाजिक सञ्जालमा ‘सकेनन् चितवनवासीले मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर स्टाटस लेखेका थिए।

एसपी काफ्लेका अनुसार यसअघि पनि अनलाइन सञ्चालक मगरविरुद्ध जिल्ला अदालत सुर्खेतले गत पुसमा पाँच महिना कैद र पाँच हजार जरिमानाको फैसला सुनाएको थियो। उतिखेर मगरले पीडित राउटे समुदायका युवतीको पहिचान खुलाएर अनलाइनमा समाचार र फेसबुकमा स्टाटस लेखेका थिए।