सिड्नी : स्वास्थ्य सेवामा हेलचक्य्राइँ भनेको अरूको जीवनमाथिको खेलबाड हो। यसले आफ्नो करियरमाथिनै धावा बोल्छ।

पछिल्ला दिन अस्ट्रेलियामा स्वास्थ्य शिक्षामा विकृति मौलाउन थालेका छन्।

बिना अध्ययन र अनुभव योग्यताको प्रमाणपत्र सहजै पाइने भएकाले अष्ट्रेलियामा त्यस्ता प्रमाणपत्र बोकेर जागिर खान जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको छ।

यसले राज्यको शैक्षिक नीतिअन्तर्गत ‘लुपहोल’ को फाइदा उठाउँदै संवेदनशील स्वास्थ्य क्षेत्रको रोजगारीमा समेत बेइमानी हुन थालेको छ।

विद्यार्थीको सहजताका लागि भन्दै यसरी बेइमानी गरेर पैसा कमाउनेले उनीहरूको करियरमाथिनै खेलबाड गरिरहेका छन्।

कोभिड महामारीपछि अस्ट्रेलियाको स्वास्थ्य क्षेत्रमा कामदार अभाव पूर्ति गर्न सरकारले विद्यार्थीलाई सहुलियत र छुट दिएको थियो। राम्रो आम्दानी र मनग्य काम पाइने हुनाले नेपालबाट आउने धेरै विद्यार्थीले यो पेशालाई आफ्नो कार्य क्षेत्र रोज्न थाले।

यसका लागि विद्यार्थीले न्युनतम आवश्यकता पुरा गरेपछि व्यक्तिगत स्याहार सम्बन्धी प्रमाणपत्र पाउँछन्। त्यसपछि सर्टिफिकेट फोर इन इन्डिभिजुअल सर्पोट पढ्न पाइन्छ। अर्कोतर्फ सर्टिफिकेट फर फोर एजीङ सर्पोट पनि छ।

सर्टिफिकेट थ्री इन इन्डिभिजुअल केयर (नर्सिङ सहायक) हुन चाहिने न्यूनतम योग्यता हो भने यसका लागि मान्यता प्राप्त कोर्स दर्ता भएका रजिस्टर्ड ट्रेनिङ अर्गनाजेसनबाट विद्यार्थीले कुल १३ वटा युनिट पढेको हुनुपर्छ। यसका साथै अनुभव बटुल्न १२० घण्टाको प्लेसमेन्ट (अभ्यास तालिम) को आवश्यकता हुन्छ।

पछिल्लो समय यस्ता तालिम वा शिक्षा पूरा नगरेका वा नलिएका व्यक्तिलाई पैसा लिएर प्रमाणपत्र धमाधम वितरण भइरहेको गुनासो आउन थालेको छ।

यस्ता प्रमाणपत्र लिएर काम खोज्दै हिँडेका विद्यार्थीलाई पढेको कलेज र अनुभव लिएको स्थानका बारेमासमेत जानकारी नहुने भएपछि कयौं एजकेयरले काम दिन नसक्ने बताएको एक पीडित विद्यार्थीले बताए।

‘साथीभाइले पैसा तिरेपछि सर्टिफिकेट पाइन्छ भनेर गइयो। कलेज पनि गएको होइन, तालिम पनि लिएको होइन पैसा तिरेपछि सर्टिफिकेट पाइयो’, ती विद्यार्थीले भने, ‘अहिले बुझ्दै गर्दा कुरो अलि गडबड रहेछ। कति एज केयर धाइयो कामै पाइँदैन।’

‘उनीहरूले पढाइका आधारमा नभएर साथीभाइको लहलहैमा पैसा तिरेर केही दिनमै प्रमाणपत्र लिएको खुलासा गरेका छन्’, निर्देशक माधवराज पौडेलले भने, ‘आफूले यस्तो जानकारी पाए लगत्तै सम्बन्धित एजेन्ट र सरकारी पक्षलाई यस बारेमा जानकारी गराइसकेको छु।’

प्रमाणपत्रमा अस्ट्रेलियाको युएसआई अर्थात युनिक स्टुडेन्ट आइडन्टीफिकेसन नम्बर समेत हुने हुनाले भोलि काममा केही दुर्घटना भए विद्यार्थी कारबाहीको दायरामा पर्नसक्ने देखिन्छ।

कुनै पनि नर्सिङ होममा काम गर्ने विद्यार्थीले बिना अनुभव र बिना अध्ययन काम गर्दा यस्ता दुर्घटना घट्ने सम्भावना बढी हुन्छ।

यस्ता संवेदनशील पेशामा एउटा सानो गल्तीले बिरामीको ज्यान जोखिममा पर्न सक्ने र जाँचबुझ भएमा विद्यार्थीको भविश्य समेत बिग्रने हुनाले यस्तो क्रियाकलापलाई कानुनी दायरामा ल्याउनुपर्ने क्यानबेराका रजिष्ट्रर्ड नर्स प्रदिप तिम्सीनाले बताए।

‘आरपीएलका नाममा बिना अध्ययन र अनुभव सर्टिफिकेट प्रदान गर्नु भनेको गैर कानुनी काम हो, यसैले यस्ता काम रोक्न र यसरी सर्टिफिकेट नलिन आग्रह गर्छु’, तिम्सीनाले नेपाली विद्यार्थीलाई आग्रह गरे।

विगत केही महिनादेखि आफूकहाँ यस्ताखाले केही प्रमाणहरू आएकोसमेत उनले जानकारी गराए।

राज्यको निगरानीमा परेका केही कलेजको नाममा यो धन्धा मौलाउँदै आएको छ। पुरानो मिति राखेर त्यस्ता कलेजका नाममा नक्कली सर्टिफिकेट बाँड्ने धन्धामा केही नेपाली शैक्षिक केन्द्रसमेत लागेका छन्।

कुनै पनि पेशागत रूपमा तीन वर्षको अनुभव संगालेको प्रमाणसहित योग्यताको प्रमाणपत्र वितरण गरिनुपर्ने अस्ट्रेलियाको शैक्षिक मान्यतालाई टेकेर विभिन्न नक्कली कागजात पेश गर्दै यस्ता प्रमाणपत्र जारी गरि पैसा कमाउने नाममा केही गलत व्यक्ति लागिरहेको कानुनविद् शमशेर सिंह थापाले बताए।

‘सबैभन्दा पहिलो कुरा त विदेशमा पढ्न आउने विद्यार्थीले बिना जानकारी पैसा तिरेर प्रमाणपत्र लिने काम आफैंमा गलत हो’, थापाले भने, ‘त्यसमाथि बिना प्लेसमेन्ट र अध्ययन नगराई त्यस्तो संवेदनशील सेवाका प्रमाणपत्र वितरण गरिन्छ भने त्यो झनै गलत हो।’

यस्तो विषयमा विद्यार्थीले उजुरी दिएमा सञ्चालकले ठूलो कारबाहीको मूल्य चुकाउनुपर्ने थापाले बताए। ‘सञ्चालक मात्र होइन चाडै काम पाइने र पढ्नै नपर्ने अनि प्लेसमेन्टसमेत गर्नुनपर्ने सजिलो बाटो खोज्दै हिँड्दा विद्यार्थी पनि सजायको भागिदार बन्नुपर्ने हुन्छ’,थापाले भने।सेतोपाटी