काठमाडौँ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिए पनि शनिबार, १ गते आइतबार तथा २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेकाले छ दिन विद्यालय तथा कार्यालय बन्द हुने भएको हो।

निर्वाचनका लागि धेरैजसो सामुदायिक तथा निजी विद्यालयमा मतदान केन्द्र राखिएको, धेरै शिक्षक निर्वाचनमा खटाएको र शिक्षक तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मतदानका लागि गाउँ फर्किने भएकाले आजदेखि अगामी जेठ २ गतेसम्मका लागि विद्यालय बन्द गरिने भएको हो।

सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ।

सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शिक्षा मन्त्रालयले यसलाई कार्यान्वयन गराउन शिक्षा विकास तथा समन्वय एकाइ सानोठिमीलाई परिपत्र गरेको छ।

शिक्षा मन्त्रालयले बुधबार सरकारी तथा निजी विद्यालयमा पनि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

शुक्रबार ४ बजेसम्म नै पठनपाठन गर्ने तथा बर्खे र हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने व्यवस्था मिलाउन शिक्षामन्त्रीस्तरीय निर्णय गरी बुधबार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीलाई निर्देशन गरेपछि केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको हो।रासस