मधेश्टप , राजविराज । मिटरब्याजी प्रकरण अन्तर्गत ठगी तथा अपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी भनिएका सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरका रामदेव साहलाई पक्राउ गर्न माग गर्दै बुधवार सदरमुकाम राजविराजमा पीडितहरुले प्रदर्शन गरेका छन् ।
दुई महिनाको अवधिमा फरार आरोपि साहलाई पक्राउ गर्न पीडितहरुद्वारा गरिएको यो ११ औं पटकको प्रदर्शन हो ।
यस अघि मिटरब्याजी साहबाट पीडित भएकाहरुद्वारा गठित संघर्ष समितिले १० पटक उनको पक्राउको माग गर्दै राजविराजमा प्रदर्शन गरिसकेका छन् ।
साहका छोरा नन्दकिशोर र छोरी अनुराधा भने २ महिना अघि नै पक्राउ परी ठगी तथा अपराधिक विश्वासघात मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि राजविराज कारागारमा छन् ।
उक्त मुद्दाका मुख्य अभियुक्त भनिएका रामदेव साह भने अझै फरार छन् । प्रहरीले भने रामदेवको खोजी कार्य व्यापक बनाइए पनि अहिले सम्म फेला नपरेको र लुकेर बसेको हुन सक्ने सम्भावित स्थानहरुमा खोज तलास कार्य जारी राखेको जनाउदै आएको छ ।
साह परिवार माथि जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय व्यक्तिले लिएको ऋण र व्याज चुक्ता गरिसके पनि धितो फिर्ता नगरेको आरोप छ ।
शिव मन्दिर परिसरमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साह परिवारलाई कारबाही गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
Discussion about this post