काठमाडौं महानगरपालिकाले ठूला करदातालाई करको दायरामा ल्याउने अभियान सुरु गर्ने भएको छ । बुधबार फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिएर कर असुल गरेपछि अन्य ठूला करदातालाई पनि करको दायरामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको हो ।
महानगरलाई कर नबुझाउनेमध्ये धेरैजसो अर्धसरकारी संस्था छन् । त्यसमध्ये विद्युत् प्राधिकरणले करिब १५ करोड कर तिरेको छैन । प्राधिरकणलाई पटक–पटक ताकेता गर्दा पनि कर नतिरेपछि महानगरले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै नाममा पत्र काटेको छ । ‘कर नतिर्ने धेरै संस्थानहरू छन् ।
त्यसमध्ये सबैभन्दा धेरै प्राधिकरणले तिर्न बाँकी छ,’ प्रमुख डा. अधिकारीले भने, ‘पटक–पटक ताकेता गर्दा पनि कर तिर्न नआएपछि हामीले कार्यकारी निर्देशक घिसिङकै नाममा समेत पत्र काटेका छौँ । उहाँहरूले छिट्टै तिर्ने भन्नुभएको छ ।’
त्यस्तै, फनपार्कले काठमाडौं महानगरलाई कर बुझाएको छ। काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले कर बुझाएको हो। फनपार्क सञ्चालक र काठमाडौं महानगरपालिकाबीच बिहीबार छलफल पछि कर तिर्न सहमत भएको हो।
महानगरपालिकाअन्तर्गत राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार फनपार्कका अधिकारीले कर बुझाएको जानकारी दिए। उनले मनोरञ्जन करबापत १७ लाख ३७ हजार रुपैयाँ बुझाएको बताए।
यस्तै फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी छ। उक्त कर भने उनीहरूले वडामा बुझाउनु पर्ने छ। ‘व्यवसाय कर भने वडामा ने तिर्नुपर्ने हुन्छ, व्यवसाय कर एकदेखि डेढ लाखको हाराहारीमा होला। त्यसको लागि हामीले चिठी काटिसकेका छौंं। उहाँहरू कर तिर्नेमा सकारात्कमक हुनुहुन्छ।’ ,’ उनले भने।
६० रोपनी जग्गा समाज कल्याण परिषदले फनपार्कलाई भाडामा दिएको छ। बहाल करको दस प्रतिशत कर परिषदले महानगरलाई बुझाउनुपर्ने हुन्छ।
बुधबार महानगरपालिकाले बाँकी रहेको कर २४ घन्टाभित्र तिर्न पत्र काटेको थियो। उक्त पत्र बुझाउन महानगरले बुधबार नै कर्मचारी पठाएको थियो।
तर, उक्त पत्र फनपार्कले लिन मानेन। पत्र बुझ्न नमानेपछि महानगरपालिकाले बिहीबार दिउँसो पत्र टाँस्ने र त्यसपछि पनि अटेरी गरे सिलबन्दी गर्ने चेतावनी दिएको थियो।
Discussion about this post