मधेशटप,संवाददाता । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत कृषि स्नातकको चौथो सेमेष्टरको परीक्षामा पुरानो पाठ्यक्रमको प्रश्न सोधेको पाइएको छ । बुधबार भएको कमर्सियल क्रम (नगदे बाली) को परीक्षामा सोधिएको प्रश्नपत्र पुरानो पाठ्यक्रम अनुसार छ ।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले कृषि स्नातकको पाठ्यक्रम २०७६ सालमा परिवर्तन गरेको थियो । २०७६ सालदेखि नै नयाँ पाठ्यक्रममा आधारित भएर अध्ययन अध्यापन हुँदै आइरहेको छ ।

अध्ययन संस्थानको परीक्षा शाखालाई बारम्बार यस्ता हेलचेक्राँइ नदोहोर्याउन आग्रह गर्दा पनि समस्या सामान्य भएको बताउने गरेको विद्यार्थी नेपालले बताए ।२० अंकको प्रश्नपत्रमा अंक बराबरको प्रश्न पुरानो पाठ्यक्रमबाट सोधिएको रामपुर क्याम्पस बाली विज्ञानका उप–प्राध्यापक अच्युत गैरेले बताए ।

उनले भने, ‘परीक्षा शाखाको त्रुटीले विद्यार्थीहरु मर्कामा परे । पठनपाठन नयाँ पाठ्यक्रमबाट हुन्छ तर करिब ५० प्रतिशत प्रश्न पुरानो पाठ्यक्रमबाट सोधिएको छ ।’परीक्षा शाखाका सहायक डीन कन्हैया प्रसाद सिंले प्रश्नपत्र बनाउँदा त्रुटि भएको पाइएपछि समिति बनाएर छानबिन शुरु भएको जानकारी दिए ।

उनले भने, ‘हो चार वटा प्रश्नमा त्रुटी भएको पाइएको छ । त्यसैले छानबिन समिति बनाई काम शुरु भइसकेको छ । समितिको रिपोर्ट आएसँगै दोषीलाई नियमानुसार कारबाही हुन्छ ।’