जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।
जानकी मन्दिरका सहायक महन्थ रामरोसन दास र राम मन्दिरका महन्थ राम गिरीले अंकमाल (सम्धी मिलन) गर्दै तिलकोत्सव विधि गरेका थिए ।
त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा सीताराम विवाह पञ्चमी महोत्सव सातासम्म मनाइन्छ ।
जानकी मन्दिरबाट ‘भार’लिएर जानकी मन्दिरका सहायक महन्थ दाससहित श्रद्धालुहरु राम मन्दिर पुगेका थिए ।
त्यहाँ तिलकोत्सवको अवसरमा दुबै पक्षबीच हार्दिकता साटासाट गर्दै हाँसोठट्टा कार्यक्रम भएको थियो । तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट फलफूल, मिष्ठान लिएर श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणमा पुगेर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए ।
तिलकोत्सवमा दुलही पक्षको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका सहायक महन्थ दासले भार दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरेका थिए ।
विवाहपञ्चमीको पाँचौ दिन आइतबार माता जानकीको मटकोर हुनेछ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने सोमबार विवाहपञ्चमीको मुख्यदिन जानकी स्वयम्वर तथा राति जानकी मन्दिरमा वैवाहिक कार्यक्रम हुनेछ । मंगलबार रामकलेवा गरेसंगै विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ ।
Discussion about this post