२७ पुष २०७९ : बुधबार
उमेश कुमार साह
राजबिराज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा बार्गेनिंङ्ग गर्ने र स्वार्थ पूरा नभए समाचार लेख्ने प्रवृत्ति बढेको गुनासो बढेको भन्दै त्यसलाई रोक्न कडा कदम चालिने बताउनुभएको छ । अध्यक्ष बस्नेतले पत्रपत्रिका वर्गीकरणलाई निष्पक्ष र पार्दिशित बनाउने विश्वास व्यक्त गरेका छन् । बुधवार पत्रकार आचारसंहिता, मिडिया विकास कोष र पत्रपत्रिका वर्गीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा अध्यक्ष बस्नेतले बताएको हो ।
अध्यक्ष बस्नेतले भने नीहित स्वार्थ पूरा नभए समाचार बनाउने प्रवृत्तिले पत्रकारितालाई कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैको समन्वय हुनु जरुरी भएको बताउनुभयो ।
‘कतिपय सञ्चार माध्यमलाई काउन्सिलले विशेष निगरानीमा राखेको छ । पर्याप्त प्रमाण पुर्याएर त्यस्ता सञ्चारमाध्यमलाई आचारसंहिताको कारवाही हुनेछ,’ अध्यक्ष बस्नेतले भन्नुभयो ।
अनलाइन र युट्युव च्यानलहरुमा पत्रकारिताको रोगकै रुपमा यो समस्या भित्रिएकाले काउन्सिलले अभियानै चलाएर यसविरुद्ध कदम चालिरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा विषयगत विज्ञका रुपमा केही पत्रकारले अनलाइन पत्रकारिताले चुनौती बढाएको भन्दै पत्रकारिताका निश्चित मूुल्य मान्यताको पालना गरेमा धेरै समस्याको समाधान हुने बताउनु भएको छ ।
पण्डितले पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिल जस्ता नियामक निकाय सक्रिय बन्नुपर्ने सुझाव राख्नुभयो ।
‘काउन्सिलले ल्याएका नयाँ मापदण्ड, अभिमुखीकरण कक्षा जस्ता कदमले पत्रकारलाई उत्तरदायी बनाउन ठूलो मद्धत पुर्याएको छ । अझै नियमन जरुरी छ, उहाँले भन्नुभयो ।
‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ मा विषय विज्ञको रूपमा उहाँले काउन्सिलले जारी गरेको महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका– २०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा व्यवस्था भएका प्रावधानहरूबारे जानकारी दिनुभयो ।
काउन्सिलका अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) अन्तर्गत रहेका पत्रकारले गर्न नहुने १४ वटा बुँदाबारे प्रष्ट पार्नुभयो ।
नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाईंले पत्रकारले विश्वसनीयता र सबैले पत्याउने ढंगले असल पत्रकारिता गर्नुपर्नेमा जोड दिए । यस क्षेत्रभित्र बाहिर र भित्र देखिएका समस्या समाधान गर्नुपर्ने बताउँदै उहाँले साझा समस्या पहिचान गरेर समाधानमा लाग्नुपर्ने बताए ।
अनलाइन पत्रकारितामा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै उहाँले सत्यताको परीक्षण नगरिकन दिने समाचारजन्य सामग्रीले समाज र देशलाई नै आघात पुग्ने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण गर्नुहुँदै महासंघका सचिव गोविन्द चौलागाईंले पत्रकार आचारसंहितासम्बन्धी कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुभयो ।
नेपाल पत्रकार महासँघ सप्तरीको संयोजन र प्रेस काउन्सिल नेपालको आयोजनामा राखिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, मधेश प्रदेश आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादब, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य झबिन्द्र फुयाल, शाखा सप्तरी पूर्व अध्यक्ष मुरली यादब, पूर्व केन्द्रीय सदस्य अबधेश झा लगायतले पत्रकारिता क्षेत्रमा देखिएको समस्या, चुनौती तथा आचारसंहिता पालना सम्बन्धमा धारणा राखेका थिए भने कार्यक्रम संचालन शाखा सप्तरी सचिव रामनारायण बिश्वासले गरेका थिए ।
तपाईको प्रतिक्रिया !