जनकपुरधाम । मधेश प्रदेश प्रहरीले पछिल्लो ८ महिनामा विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका दुई हजार ८ सय १६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन २० गते सम्ममा प्रदेशका ८ वटै जिल्लाबाट जिल्ला प्रहरी कार्यालयहरुले दुई हजार ८ सय १६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
मधेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार सबभन्दा बढी जिल्ला प्रहरी कार्यालय पर्साले ४ सय ५४ जनालाई पक्राउ गरेको छ भने सबभन्दा कम जिल्ला प्रहरी कार्यालय सिरहामा २ सय ८३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनुषाले ३ सय ५५, जिल्ला प्रहरी कार्यालय महोत्तरीले ३ सय ३, सप्तरी प्रहरीले ३ सय २६, सर्लाही प्रहरीले ३ सय, रौतहट प्रहरीले ३ सय ४६ र बारा प्रहरीले ४ सय ४९ जना प्रतिवादीलाई पक्राउ गर्न मधेश प्रदेश प्रहरीको तथ्याँकमा उल्लेख रहेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मनोज यादवले प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार मधेश प्रदेशमा फरार प्रतिवादी अभियान संचालन गरिएको बताए । समाजमा शान्ति सुरक्षा व्यवस्थापनलाई बलिया बनाउने उद्देश्यले विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियान संचालन गरिएको उनले बताए ।
विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भइ दोषी ठहर भएर उम्किएकाहरुलाई कानूनी दायरामा ल्याउनु प्रहरीको दायित्व रहेको बताउदै उनले भने, ‘यसले सर्वसधारणको प्रहरीप्रतिको विश्वास झन बढ्ने र सर्वसाधरणले कानूनी राज्यको अनुभूति भइ अपराधिक तत्वहरुलाई एक प्रकारको डर उत्पन्न हुने छ ।’
प्रहरीले फरार प्रतिवादी अभियान संचालन गर्दा कतिपय फरार प्रतिवादी आफै प्रहरी समक्ष आत्मसमर्पण गर्ने गरेको समेत उनले बताए ।
Discussion about this post