ध्रुबकुमार झा
जनकपुरधाम । जनकपुरधाममा रहेको एक मात्र सरकारी नर्सिंग क्याम्पसको अस्तित्व समाप्त हुने सम्भावना बढेर गएको छ ।
वि.सं.२०५७ सालमा स्थापना भएको जनकपुर नर्सिंग क्याम्पसबाट अहिले सम्म ७ सय ५० भन्दा बढी स्टाफ नर्स उत्पादन भइसकेको छ ।
क्याम्पस बन्द भएपछि यस क्षेत्रका गाउँघरबाटै थोरै खर्चमा नर्स बन्न सकिने सम्भावना समाप्त हुनेछ भने स्टाफ नर्सकै अध्ययनका लागि यस क्षेत्रका विद्यार्थीहरुले अत्यधिक खर्च गर्नु पर्ने अवस्थाको सृजना हुने प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा.प्रमोद कुमार यादवको कथन छ ।
चिकित्सा शिक्षा ऐनअनुसार एउटै स्वास्थ्य संस्थान अन्तर्गत दुई स्तरको क्याम्पस संचालन गर्न नसकिने र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले बीएससी नर्सिंग कार्यक्रम शुरु गरेपछि पिसीएल तह(स्टाफ नर्स)को जनकपुर नर्सिंग क्याम्पस बन्द हुने अवस्थामा पुगेको प्रादेशिक अस्पताल जनकपुरधामका सूचना अधिकारी डा.रामनरेश पण्डितले बताए ।
३ लाख ५० हजारमै तीन वर्षको कोर्स अध्ययन गर्न सकिने भएकोले यस क्षेत्रका चेलीबेटीका लागि यो नर्सिंग क्याम्पस बरदान नै साबित भएको उनी बताउँछन् । भने अर्को तर्फ प्रादेशिक अस्पताल जनकपुरधामका लागि अतिरिक्त स्वास्थ्यकर्मीको आपूर्ति गर्नका लागि यो क्याम्पस सहयोगी साबित भएको उनको कथन छ । ४० मध्ये चार जनालाई छात्रवृति तथा ३६ जना शशुल्क अध्ययन गर्ने सो क्याम्पसले दक्ष जनशक्ति उत्पादन गर्दै आएको दाबी डा.पण्डितको रहेको छ ।
गत वर्षदेखि नै यो प्रावधान लागु भए पनि कोभीड विशेष अस्पतालको सय बेड देखाएर जसो-तसो यस वर्षसम्म क्याम्पस जोगाइएको डा.पण्डितले स्पष्ट पारे । आयोगको प्रावधानकै कारण देशभरिका थुपैै्र संस्थाको कार्यक्रमहरु बन्द भइसकेको बताउँदै उनले भने,‘ डा.गोविन्द केसीले चलाएको आन्दोलन र सोपछि सरकारसंग भएको सम्झौताअनुसारको प्रावधानपछि देशभरिका थुप्रै स्टाफ नर्सलगायतका क्याम्पसहरु बन्द भइसकेको छ र विकल्प नखोजिए जनकपुर नर्सिंग क्याम्पसको अस्तित्व पनि समाप्त भएर जानेछ।’
अहिले आएर पतष्ठान अन्तर्गत पिजी स्तरको कार्यक्रम शुरु गरेको जसको लागि तीन सय शैय्याको अस्पताल अनिवार्य रहेको बताउँदै उनले भने,‘अब अस्पताल विकास समितिको सय शैय्या,प्रादेशिक अस्पतालको सय शैय्या र कोभीड अस्पतालको सय शैय्या मात्रै रहेकोले यस क्याम्पसको लागि चाहिने सय बेडको अस्पतालको लागि विकल्प खोज्नु आवश्यक परेको छ।’
जलेश्वर अथवा सिरहास्थित रहेको पचास शैय्याको अस्पताललाई सय बेडमा अपग्रेड गरी जनकपुर नर्सिंग क्याम्पसलाई सो अस्पतालमा समायोजन गरेर यहीँबाट अध्ययन अध्ययापन गराउन सकिने सुझाव सूचना अधिकारी डा.पण्डितले दिएका छन् ।
विद्यार्थीहरुबाटै शुल्क लिएर बिना कुनै संस्थाको सहयोग बिनै दुई दशकभन्दा बढी समयदेखि लगातार संचालनमा रहँदै आएको क्याम्पसको अस्तित्व जोगाउनलागि प्रदेश सरकार गंभीर हुन जरुरी रहेको उनले बताए ।
तत्कालीन जनकपुर अञ्चल अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा.विजय कुमार सिंहको विशेष सक्रियतामा क्याम्पस स्थापना भएको क्याम्पसले उत्पादन गरेको जनशक्ति अहिले देशको विभिन्न अस्पतालमा सेवा दिँदै आएका छन् ।
मधेशमा नर्सिंग पढ्न ईच्छुकको संख्या औंलामा गन्न सकिने रहेको समयमा यस क्याम्पसको स्थापनाले जनकपुरलगायतको आसपासको क्षेत्रका लागि नर्सिंग सेवा शिक्षाको क्षेत्रमा मदर बोर्डको काम गरेको तत्कालीन मेसु डा.सिंहले बताउँछन् । उनले भन्छन्,‘जब यो नर्सिंग क्याम्पसको स्थापना भयो त्यसपछि यस क्षेत्रमा धमाधम अनमी,अहेब लगायतको विभिन्न नर्सिंग सेवाका कलेजहरु स्थापना हुन थाले त्यसैले यो जनकपुर नर्सिंंग क्याम्पस मदरबोर्ड हो।’
घरपायक क्याम्पसको कारण थोरै खर्चमा विपन्न वर्गका छोरीचेलीले पनि चिकित्साको अध्ययन गर्न सक्ने अभिप्रायले तत्कालीन जनकपुर अञ्चल अस्पताल विकास समिति,नेपाल सरकारको स्वास्थ्य मन्त्रालय र सीटिईभीटीको संयुक्त सहकार्यमा क्याम्पसको स्थापना भएको बताउँदै डा.सिंहले यो क्याम्पसको अस्तित्व मेटिन लाग्नु दुर्भाग्यपूणर् रहेको टिप्पणी गरे ।
‘जुन बेलामा यहाँका व्यक्तिहरुले नर्सिंग अध्ययनप्रति नकारात्मक धारणा राख्थे त्यो बेलामा यसको स्थापना भएर नर्स प्रतिको धारणामा समेत थुपै्र परिवर्तन भइसकेको छ र सो अवस्थाको लागि यसै क्याम्पसको भूमिकालाई जान्छ।’,उनले प्रष्ट पारे ।
यता प्रतिष्ठानका रेक्टर डा.अंकुर साहले नर्सिंग क्याम्पसलाई जोगाउनका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसंग छलफल भइरहेको जानकारी दिँदै जलेश्वर अथवा सिरहाको अस्पतालाई अपग्रेड गरी क्याम्पसलाई समायोजन गरेर जसरी पनि संचालन गर्नु पर्ने सुझाव समेत आफूहरुले दिएको बताए ।
नर्सिंग क्याम्पसको अस्तित्व कुनै पनि हालतमा जोगाइने दाबी मधेश प्रदेशका सामाजिक विकास मन्त्री सुरिता साहले जनकपुर नर्सिंग क्याम्पसको अस्तित्व मेटिन नदिन हर सम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । यस सन्दर्भमा प्रतिष्ठानका पदाधिकारीहरुसंग पहिलो चरणको छलफल भइसकेको जानकारी दिँदै उनले भनिन,‘जलेश्वर अथवा सिरहा अस्पताललाई सय बेडमा स्तरन्नोत्ति गरेर नर्सिंग क्याम्पसलाई सञ्चालनमा राख्नका लागि मन्त्रालय प्रयासरत छ।’
भारतीय राजदूतावासको अनुदानबाट निर्माण भएको भवनमा हाल नर्सिंग क्याम्पस संचालनमा रहेको छ भने क्याम्पस संचालनका लागि अहिले सम्म कुनै पनि संस्थाबाट कुनै प्रकारको अनुदान समेत नपाएको अवस्थामा क्याम्पसको अस्तित्व नै समाप्त हुने अवस्था उत्पन्न हुनु अत्यन्त दुखद कुरो रहेको क्याम्पसकी पूर्व संयोजक रंजु यादवको टिप्पणी रहेको छ ।
यो क्याम्पस बन्द भएपछि धनुषा,महोत्तरी,सिरहा सप्तरीलगायतका जिल्लाको दुर्गम क्षेत्रका छोरीचेलीहरुहरुको नर्स बन्ने सपना कहिले पनि पूरा नहुने जिकिर समेत पूर्व संयोजक रंजु यादवले गरिन् ।
Discussion about this post