राजविराज । सप्तरी जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्ने पाँच सूत्रीय माग राख्दै किसान संघर्ष समितिले संघ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
समितिले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंह दरवार काठमाण्डु ज्ञापनपत्र पठाएको छ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्व प्रसाद सिंह यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय राजविराज पुगेका एक टोलीले प्रशासकीय अधिकृत कल्पना मानन्धरलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा पानी नपरेपछि आमनागरिक र किसानले पानीको अभावमा खेतीपाती गर्न नसकेकाले तत्काल सुख्खा क्षेत्र घोषणा हुनुपर्ने, चौपायामा फैलिएको लम्पी स्किन रोग निदान तथा नियन्त्रणकाका लागि भ्याक्सिनको व्यवस्था गर्नुको साथै वस्तुभाउ गुमाएका किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै,किसानका लागि उन्नत वीउ विजन, सिँचाइ तथा मलखाद सरल र सहज रुपमा उपलब्ध गर्नुपर्ने, कृषि विद्युतीयकरणसँग आवद्ध भएका किसानका लागि २४ घण्टा विद्युत आपूर्तिको व्यवस्थापन गर्नुको साथै राहतस्वरुप कृषि विद्युत मिटर किसानलाई सहज रुपमा उपलब्ध गर्नुपर्ने माग गरिएको छ ।
यसैगरी,सबै स्थानीय तह हरुमा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्नेसहितको माग रहेको छ । समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत मानन्धरले संघर्ष समितिले उठाएको माग जायज भएकोले तत्कालै सम्बन्धित निकायमा पठाउने बताइन् ।
Discussion about this post