जनकपुरधाम । जनप्रतिनिधि र कर्मचारी, कार्यालयको काम शहरका डेराबाट गर्दै आएकोमा स्थानीयले आक्रोश पोखेका छन् ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी कार्यालयमा नबस्ने गरेको पाइएको छ ।
जनप्रतिनिधि र कर्मचारीहरूले कार्यालय समयसम्म कार्यालयमा बसेर काम गर्नुपर्नेमा दैनिक अनुपस्थित हुने गरेको पाइएको छ ।
एक स्थानीयले नाम नभन्ने शर्तमा भने अइ बाजी के मेयर आ हाकिम सबके सब चोर है,(यस पल्ट निर्वाचित भएका अध्यक्ष र कार्यालयमा आएका प्रमुख प्रसाशकीय अधिकृत सबै कामै न लाग्ने देखिएको बताइएको छ ।
उनले प्रशासन फाँटलगायत अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमासमेत ताला
लागेको देखेपछि तस्बिरसमेत खिचेका थिए ।गाउँपालिका अध्यक्ष जयकुमार यादव, उपाध्यक्ष सैदा खातुन र प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवको कार्यकक्षमा ताला लागेको थियो । उनले स्थानीयसँग बुझ्दा गाउँपालिकामा करिब एक हप्तादेखि जनप्रतिनिधि र कर्मचारीहरू नआउने गरेको जानकारी पाए ।
यस सम्बन्धमा बुझ्नका लागि उपाध्यक्षको मोबाइलमा सम्पर्क गर्दा उनका पतिले मोबाइल उठाई उपाध्यक्ष ज्यू अहिले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आफ्नो आमाको उपचार गराइरहेको जानकारी दिए ।
त्यसपछि प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवलाई फोन गर्दा उनले आफू बिदामा रहेको र अहिले आफ्नो व्यक्तिगत कामले काठमाडौं आएको बताए ।
उनले पालिकामा विगतमा भएको घटनाका कारण सुरक्षा चूनौतिसमेत बढेकोले जनप्रतिनिधि र कर्मचारीहरू कार्यालय आउन डराइरहेको जानकारी दिए ।
यता स्थानीयले भने जनप्रतिनिधि र कर्मचारीले शहरका चिया पसल र भाडाका कोठाबाट काम गर्ने गरेको आरोप लगाएका छन् ।
‘गाउँपालिका अध्यक्ष र कर्मचारी गाउँमा बस्दैनन्’, नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले भने, ‘जनकपुरमा कोठा भाडामा लिएर काम गर्छन् । स्थानीयले सामान्य कामका लागि अध्यक्ष र कर्मचारी खोज्दै शहर धाउनुपर्ने बाध्यता छ ।’
निर्वाचनपछि गाउँमै सेवा-सुविधा पाउने आशा निराशामा बदलिएको स्थानीको गुनासो छ । गाउँपालिका अध्यक्ष यादव विगतदेखि नै प्रायः जनकपुरधाममै बस्दै आएको र पछिल्लो समय करिव ४/५ दिनदेखि कार्यालयमा अनुपस्थित रहेको स्थानीयको गुनासो छ ।
यता, कार्यालयका सूचना अधिकारी तपनारायण साहले कार्यालयमा लगबुक र सूचना पाटी नभएकोले को कहाँ गए भन्ने विषयमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले अध्यक्ष ज्यू भने कार्यालयको गाडी मरम्मतका लागि जनकपुरतर्फ गएको हुनसक्ने बताए ।
मुखियापट्टी मुसहरनिया मात्रै नभइ जिल्लाका धेरैजसो स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरू कार्यालय समयमा कार्यालयमा नबस्दा सेवाग्राही सेवाबाट बञ्चित हुँदै आएका छन् । पेशाप्रति जिम्मेवार हुनुपर्नेमा जनप्रतिनिधि र कर्मचारीहरूको गैरजिम्मेवारीपन बढ्दै गएको एक सेवाग्राहीले गुनासो गरे ।
कार्यालयमा कर्मचारी र जनप्रतिनिधिहरू नबसेको र सरकारी गाडी अनि सरकारी तेलमा घरको काम गर्न व्यस्त भएको ती सेवाग्राहीले बताए ।
जिल्लाका अधिकांश स्थानीय तहका कर्मचारीहरू हाजिर गरेर जाने गरेका छन् भने जनप्रतिनिधिहरूले विभिन्न संघसंस्था वा राजनीतिक दलको कार्यक्रममा रिबन काट्ने र भाषण गरेरै दिन बिताउने गरेका छन् ।
सेवा लिन कार्यालय धाउने सेवाग्राहीहरू गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसम्म कार्यालयमा नबस्दा त्यतिकै फर्किने गरेका छन् ।
Discussion about this post