जनकपुरधाम । महोतरीको मटिहानी नगरपालिकाका आगलागी पिडितहरुलाई नेपाल भारत मैत्री संघले राहत वितरण गरेको छ ।
संघको केन्द्रिय कार्यालयबाट १ सय ५ घरपरिवारका लागि २ थानका दरले झुल, तन्ना र बच्चाको कपडा, त्यसैगरि १ थानका दरले लुंगी, भेष्ट तथा साडी सेट उपलब्ध गराइएको छ।
नगरपालिका प्रमुख हरिप्रसाद मण्डलको नेतृत्वमा सोमवार गरिएको राहत वितरण कार्यक्रममा संघका केन्द्रिय महासचिव बोधकृष्ण सुवेदी, मधेश प्रदेश अध्यक्ष रंधीर कुमार सिंह र केन्द्रिय सदस्य अरुण कुमार सिंहको उपस्थिती रहेको थियो ।
२०८० बैशाख १२ गते मटिहानी वडा नं. ६ स्थित जरलहवा गाछीमा आगलागी हुँदा करौंडौ मूल्य बराबरको क्षति भएको थियो ।
आगलागीबाट १ सय ३ परिवार नराम्ररी प्रभावित भएको नगरपालिकाले जनाइसकेको छ । त्यसयता विभिन्न संघसंस्थाहरुद्वारा राहत वितरण गर्ने क्रम जारी छ ।