• रञ्जन भण्डारी

जलेश्वर । राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागले गत वैशाख १७ गतेको निर्णय अनुसार वैशाख २४ गते देशैभरि परिपत्र गर्दै स्थानिय तहमा चरणवद्ध रुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नवीकरण तथा नयाँ निवेदन दर्ता गर्दा राष्ट्रिय परिचयपत्रमा आधारित बायोमेट्रिक भेरिफिकेशन अनिवार्य गरेपछि अहिले परिचयपत्र बनाउनेहरुको भिड बढेको छ ।

बिहान ६ बजे देखि साझको ६ बजेसम्म सामाजिक सुरक्षा भत्ताको लागि बायोमेट्रिक भेरिफिकेशन भैरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । उनले सुर्य नउदाउदै सेवाग्राहीहरु जिल्ला प्रसासन कार्यालय पुग्ने गरेको बताउदै सेवाग्राहीको चापलाई मध्यनजर गर्दै दुई सिफ्टमा सेवा दिइएको बताए ।

केहि समय पुर्व स्थानिय तहहरु मार्फत समेत राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक भेरिफिकेशन हुने गरेकोमा स्थानिय तहबाट सो सेवा चैत्र २५ गतेबाट हटेपछि जिल्ला प्रसासन कार्यालय तथा ईलाका प्रसासन कार्यालयहरुमा भिड बढेको उनको भनाई छ ।

उनले इलाकाहरु भन्दा वढी भिड जिल्लामा रहेकोमा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै रामगोपालपुर स्थित ईलाका प्रसासन कार्यालयमा लोहारपट्टी नगरपालिकाको वडा नं. १,२,३,५ र ६ तथा बल्वा नगरपालिकाको सवै वडा र मनरा सिस्वा नगरपालिकाको वडा नं. ३,६ र ७ को समेत सेवा थप गरिएको बताए ।

उक्त वडाका सेवाग्राहीले आफ्नो राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक भेरिफिकेशन सोहि ठाउबाट गराउन सक्ने प्रजिअ गेलालले बताए ।

यता बर्दिवास स्थित ईलाका प्रसासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउन भंगहाको सवै वडा थपिएको उनले बताए ।

त्यसतै इलाका प्रसासन कार्यालय गौशालामा सोनमाको खैरबनी र खेस्राहाका सेवाग्राहीको साथै सम्सीको सम्पुर्ण वडाको सेवा थप गरिएको प्रजिअ गेलालले बताए ।

उनले यसले सेवाग्राहीको चाप एक्कै ठाउमा धेरै नहुने र कम समयमै सेवालिन सक्ने अपेक्षा व्यक्त गरे ।

हाल जिल्ला प्रसासन कार्यालय महोत्तरी स्थित राष्ट्रिय परिचय पत्रको दैनिक तिनसय भन्दा वढी एन्ट्री भैरहेको छ ।