काठमाडौं । नेपाल प्रहरीमा डीआईजीका आठ रिक्त पदको बढुवा लम्बिने भएको छ । आठ पदमा २५ एसएसपीबीच प्रतिस्पर्धा छ । कतिपय आर्थिक चलखेलकै आधारमा बढुवा हुने दाउमा छन् ।
जसकारण बढुवामा तिव्र टक्कर हुँदा बढुवा सिफारिस समितिको बैठक बस्न सकेको छैन । धेरैलाई बढुवा गर्न कि मंसिर कुर्नुपर्ने अवस्था छ । तर, गृहमन्त्री रमेश लेखकले छिटो बढुवा गर्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि केही दरबन्दी थप्ने चलखेल अघि बढेको छ ।
विमानस्थल र ट्राफिकमा डीआईजीको दरबन्दी थप्नेबारे छलफल अघि बढेको स्रोत बताउँछ । यही बेला प्रहरीको बिधि बिज्ञान प्रयोगशालामा पनि दरबन्दी थप्न फाइल अघि बढेको छ । डीआईजी बढुवामा तीन ब्याचका एसएसपीहरुबीच प्रतिस्पर्धा छ ।
प्रहरी महानिरीक्षककै ब्याचका धुव्रराज राउत, भोलाबहादुर रावल र गणेश चन्द छन् । त्यस्तै, १११ को टोलीबाट टोलीबाट दिनेश आचार्य, ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, अरुण पौडेल, गोविन्द थपलिया, सुदर्शन कोइराला, दिपक रेग्मी छन् ।
त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका शिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमा प्रसाद चर्तुर्वेदी, हिमालय कुमार श्रेष्ठ, डम्बर विक, ओमबहादुर राना, माधव प्रसाद श्रेष्ठ, दिपेन्द्र जिसी, दिलिपसिंह देउजा, बिनोद घिमिरे, दिपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, संजिव शर्मा दास र शारदा प्रसाद चौधरी छन् ।
कांग्रेसको सरकारले नै उनीहरुलाई राअविबाट नेपाल प्रहरीमा ल्याएको थियो । जसकारण अहिलेको सत्तारुढ दलसँग उनीहरुको राम्रो सम्बन्ध छ । सोही कारण पनि बढुवामा तिव्र टक्कर देखिएको हो ।