बोदे बर्साईन , सप्तरी :१ मङ्सिर : उमेश कुमार साह
सप्तरीको बोदे बर्साईन नगरपालिका -२ नेगडामा पाचौं जिल्ला स्तरीय समा चकेवा महोत्सव २०८१ सम्पन्न भएको छ ।
थारु कल्याणकारिणी सभा जिल्ला कार्य कमिटीको आयोजनामा समाचाकेवा महोत्सव सम्पन्न भएको हो ।
कात्तिक शुक्ल द्वितिया तिथिदेखि सुरु भएको यो पर्व कात्तिक पूर्णिमाको मध्यरात्रिसम्म थारु समुदायका दिदीबहिनीहरु तथा तपाई मधेसका समुदायले प्रत्येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, कीर्तनभजन गर्दै मनाउने गरिन्छ ।
कात्तिक पूर्णिमासम्म नियमित दाजुभाई हुने र नहुने दिदी बहिनीहरुले आफ्ना दाजुभाइको लामो आयू, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यो पर्व मनाउने चलन छ । यो पर्वको मर्म भनेकै दाजुभाइसँग दिदी बहिनीले प्रेम, स्नेह र सद्भाव साटासाट गर्दै मनाइन्छ ।
महोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधेस प्रदेश सरकारका मुख्यमन्त्री माननीय सतिश सिंहले थारुहरुको हरेक पर्वलाई जगेर्ना गर्दै लानु पर्ने बताए । उनले आधुनिकतासँगै मौलिक पर्वहरु हराउँदै गएकोले यस पर्वको पनि संरक्षण गर्नमा जोड दिनु पर्ने बताए । उनले थारुभाई बहिनीको पर्व समाचकेवालाई पुस्ता हस्तान्तरण गर्दै लैजानु पर्ने बताए ।
अहिलेका केटा केटीलाई समाचकेवा पर्वको सामाजिक, सांस्कृतिक पक्षलाई समेटी भातृत्व कायम गर्न सक्नु पर्ने बताए ।
प्रमुख अतिथि सिंहले थारुको कला, संस्कृति, भेषभुषाको छुट्टै पहिचान भएकोले यसलाई बचाई राख्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा मधेस प्रदेश सभा सदस्य अनिरूद्व सिंह यादव, बोदे बरसाईनका नगरप्रमुख आतेश कुमार सिंह यादव, सुरूङ्गा नगरपालिका नगरप्रमुख गिता चाैधरी, बलान बिहुलका गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, डाक्नेश्वरी नगरपालिका नगरप्रमुख रामलखन मलहा, नेपाली कांग्रेस बोदे बरसाईन नगरसभापती दिपेन्द्र यादव, थाकस सदस्य महेन्द्र चाैधरी, सुरूङ्गा नगरपालिका पूर्व नगरप्रमुख मुक्तिनाथ चाैधरी लगायत थारु कल्याणकारी समाजका विभिन्न सदस्य , प्रतिनिधि , स्थानीय तहका जनप्रतिनिधि , वडा अध्यक्ष , जिल्ला प्रतिनिधि लगायतलाई दोसल्लाह ओढाएर सम्मान गरेको थियो ।
कार्यक्रमको अध्यक्षता थारु कल्याणकारिणी सभा जिल्ला कार्य समितिका अध्यक्ष भुपेन्द्र कुमार चौधरीले गरेको थियो ।