महोत्तरी : महोत्तरीको पिपरा गाउँपालिका–१ ढेकहा बजारमा रहेको कम्तीमा ६ वटा पसलमा बिहीबार राति भीषण आगलागी भएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार राति करिब १० बजेतिर केही अराजक व्यक्तिहरूको समूहले ती पसलहरूमा एक्कासि आगो लगाएको आशंका गरिएको छ ।

घटनाबारे जानकारी दिँदै जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा नेता राहुल पाण्डेले घटनामा अज्ञात समूहको संलग्नता रहेको दाबी गरेका छन् ।

उनले भने, “यो योजनाबद्ध रूपमा गरिएको आगजनी हो, जसमा निर्दोष व्यवसायीहरू मारमा परेका छन् । यस्ता अराजक गतिविधिका विरुद्ध तुरुन्त कारबाही हुनुपर्छ ।

आगलागीबाट ठूलो धनमालको क्षति भएको र केही पसलहरू पूर्ण रूपमा जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरी पुगेको र अहिले पनि अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

नेता पाण्डेले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न प्रहरी प्रशासनलाई जोडदार माग गरेका छन् । स्थानीय बासिन्दाहरूले पनि सुरक्षाको माग गर्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् ।