सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–६ पानमाराका २० वर्षीय अनिष कटुवाल मृत फेला परेका छन् ।

मोरङको केराबारी गाउँपालिका–६ को मुगुमा सुनसरीको कटुवाल शुक्रबार मृत फेला परेका हुन् । मोबाइल चोरी गरेको आरोप लगाउँदै केराबारीको मुगु पुलनजिक युवाहरुको एउटा समूहले बिहीबार दिउँसो ४ बजेतिर अनिषलाई आक्रमण एवं कुटपिट गरेको पाइएको छ ।

कुटपिट गरेर घटनास्थलमै छाडिदिएपछि उनी नजिकै रहेको खेम लिम्बूको घरमा गएर सुतेको खुलेको छ । लिम्बूकै घरको कोठाभित्र अनिष मृत फेला परेको प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले बताए ।

कोठाको भित्रबाट चुक्कुल लगाएर सुतेका उनी नउठेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । शुक्रबार दिउँसो १ बजेतिर घटनास्थल पुगेको प्रहरीले चुक्कुल फुटाएर हेर्दा मुख र नाकबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमै शव भेटिएको बीसीले बताए ।

उनका अनुसार ४–५ जनाको संख्यामा रहेका युवाहरुले अनिष र उनका साथी धरान पानमाराकै २० वर्षीय विशाल विश्वकर्मामाथि मोबाइल चोरीको आरोप लगाएर केराबारीको मुगु पुल नजिक कुटपिट गरेको खुलेको छ ।