मुस्ताङ । उपल्लो मुस्ताङमा शनिबार बिहानैदेखि आंशिक हिमपात भएको छ।

हिमपातसँगै सो क्षेत्रमा अत्यधिक चिसो बढेको छ। तर मुस्ताङको तल्लो क्षेत्रको मुक्तिनाथबाहेक अन्य स्थानमा भने भीषण वर्षा भएको जनाइएको छ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आशिंक हिमपात भएको लोघेरक दामोदरकुण्ड—३ का वडाध्यक्ष सम्तेन धावा गुरुङले जानकारी दिए।

उनका अनुसार लोमान्थाङ गापाको लोमान्थाङ, ठिङ्गर, सम्जुङ, चुमजुङ, फुवा, छोसेर र कोरलानाका आसपासका क्षेत्रमा हिमपात भएको हो। लोघेकर दामोदरकुण्ड गापाको चराङ, मराङ, घमी, ढाक्मर, घिलिङ, यारा, घारा, ढि र सुर्खाङ लगायतका क्षेत्रमा आशिंक हिमपात भएको हो। बर्सेनि हिउँदयामको मौसममा उपल्लो मुस्ताङमा हिमपातसँगै चिसो बढ्ने गर्छ। उपल्लो मुस्ताङमा कार्तिकदेखि चिसो बढे पनि शनिबार परेको हिउँ सिजनकै पहिलो हिमपात भएको स्थानीयको भनाइ छ।

उपल्लो मुस्ताङमा आशिंक हिमपात भएसँगै उच्चलेकका डाँडाकाँढा सेताम्मे भएका छन्। तर बाक्लो हिमपात नभएकाले बस्ती क्षेत्रमा भने खासै हिउँ जम्न नसकेको लोमान्थाङका स्थानीय आङ्गेल गुरुङले जानकारी दिए।