जनकपुरधाम । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा तालाबन्दी गररिएको छ ।

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा पेपर (कोर्ष) कन्ट्रयाक्टका शिक्षकहरुले आज अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयले उप९प्राध्यापक पदका लागि सेवा आयोगले विज्ञापन आह्वान गरेपछि उनीहरुले सेवा आयोगको कार्यालयमा ताला लगाएका हुन् । उनीहरुले सेवा आयोगका अध्यक्ष प्रा. डा. शैलेन्द्र लाभको कार्यकक्ष, सदस्य र लेखा शाखामा समेत ताला लगाएका छन् ।

आफूहरु विश्वविद्यालयको स्थापना कालदेखि नै कार्यरत रहेपनि त्यसतर्फ ध्यान नदिएर विज्ञापन आह्वान गरेको पेपर कोर्ष कन्ट्रयाक्टका शिक्षक संघका अध्यक्ष दिलिप यादवले बताए । ‘यहाँ कार्यरत अधिकांस शिक्षकको उमेर हद पनि पूरा हुन लागेको छ,’ उनले भने, ‘त्यसलाई ख्यालै नगरी नयाँ भर्नाका लागि विज्ञापन आह्वान गरेपछि हामी बाध्य भएर ताला लगाएका हौं ।’

आफूहरुलाई स्थायी गर्न पटक–पटक आग्रह गरेको र त्यसका निम्ति आन्दोलन गर्दै आएपनि त्यसलाई वेवास्ता गरेको अध्यक्ष यादवले बताए । ‘विज्ञापन आह्वान गर्दा उमेर र अनुभवलाई पनि ग्राह्यता दिनुपर्थ्यो, त्यो पनि दिएको छैन,’ अध्यक्ष यादवले गुनासो गरे ।