काठमाडौँ : उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यक्ता भएको बताएकी छन्।

बुधवार ललितपुरमा आयोजित पानी, उर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरुको प्राप्ति विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन्।

उनले जलश्रोत व्यवस्थापनमा धेरै चुनौती रहेको भन्दै आजको आवश्यक्ता नै जलश्रोतको व्यवस्थापन गर्नु रहेको बताइन्।

मन्त्री भुसालले जलवायु परिवर्तनका कारण नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधता लगायतका विभिन्न क्षेत्रमा समस्या परिरहेको बताइन्।

उनले जलवायु परिवर्तनको असरले हिमनदी, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि जस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारिरहेको बताइन्।

नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएपनि पनि सकेजति विद्युत उत्पादन गर्न नसकिएको उनले बताइन्।

उनले प्रविधिलाई कृषि, बजारीकरण, सीप र संस्थागत पक्षहरुसँग एकीकृत गर्न जरुरी रहेको भन्दै त्यसका लागि आवश्यक खाका तयार पार्नुपर्ने आवश्यक्ता देखा परेको बताइन्।

मन्त्री भुसालले भनिन्, ‘जलश्रोतको उचित व्यवस्थापन गर्नु हाम्रो आवश्यक्ता हो । जलश्रोतको सही उपयोग गरेर हाम्रो आर्थिक तथा सामाजिक विकासलाई उठाउनु हाम्रो तत्कालको आवश्यक्ता हो । यद्यपी जलश्रोत व्यवस्थापनमा धेरै चुनौतीहरु छन् ।

८० प्रतिशतभन्दा बढी पानी वर्षातको बेलामा मात्र उपलब्ध हुने भएकोले बाढी, पहिरो जस्ता विपत्तिसँग पनि लडिरेहका छौँ । हाम्रो ठूलो आर्थिक श्रोत क्षति हुँदै आएको छ ।

त्यसैगरी अन्य समयमा नेपालको धेरै क्षेत्रमा खडेरीको समस्या पनि हुने गरेको छ । त्यतिमात्रै होइन, हाम्रो हिमाली देश नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधता लगायतका विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परेको छ ।’

उनले खानेपानी, सिंचाइ र विद्युत उत्पादनका लागि पनि सुक्खा याममा पानीको अभाव हुँदै आइरहेको उल्लेख गर्दै थपिन्-‘जलवायु परिवर्तनको असरले हिमनदीहरु पग्लिरहेका छन्, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि जस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारेको छ ।

प्राकृतिक जोखिम कम गर्न र जलवायु परिवर्तनप्रति लचकता बढाउनको दृष्टिकोणले पनि पानी, उर्जा र खाद्यान्नको बढ्दो मागलाई सम्बोधन गर्ने गरी दिगो र एकीकृत दृष्टिकोण आवश्यक पर्दछ ।

नेपालमा जलविद्युतको प्रचुर सम्भावना भए पनि सकेजति विद्युत उत्पादन गर्न सकिएको छैन । प्रविधिलाई कृषि, बजारीकरण, सीप र संस्थागत पक्षहरुसँग एकीकृत गर्न जरुरी छ ।

त्यसका लागि आवश्यक खाका तयार पार्नुपर्ने आवश्यक्ता देखा परेको छ । भूमिगत जलश्रोतलाई दिगोरुपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान गर्नेछ ।

बहुपक्षीय चुनौतिहरुलाई सम्बोधन गर्न एकीकृत जलश्रोत व्यवस्थापन तथा जलश्रोतको बहुपक्षीय उपयोग गर्न आवश्यक छ ।’

मन्त्री भुसालले भूमिगत जलश्रोतलाई दिगोरुपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरिन्।

उनले बहुपक्षीय चुनौतिहरुलाई सम्बोधन गर्न एकीकृत जलश्रोत व्यवस्थापन तथा जलश्रोतको बहुपक्षीय उपयोग गर्न आवश्यक रहेको बताइन्।