मकवानपुर : मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका-८, शान्तिपुरस्थित जनता माध्यमिक विद्यालयका एक जना शिक्षक शुक्रबार साँझ आफैं जिल्ला प्रहरी कार्यालय पुगेका छन्।

 

यौन दुर्व्यवहारको अभियोग लागेका तीनजनामध्ये हेम विक शुक्रबार आफैं प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।

प्रहरी प्रवक्ता दासले भने, ‘हामीले खोजी कार्य गरिरहेका थियौं । एकजना हेमबहादुर विक नाम गरेका शिक्षक सरेन्डर गर्न जिल्ला प्रहरी कार्यालयमा आएका छन् ।

 

उनलाई आइतबार अदालतबाट म्याद थप गरी बयान लिने र अनुसन्धान कार्य अघि बढाइने छ । बाँकी दुईजनाको खोजी भैरहेको छ ।’

विकसहित ३ जनाविरुद्ध प्रहरी कार्यालयमा जाहेरी परेकाले अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाएको प्रवक्ता दासले जानकारी दिए ।

 

तीन जना शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै अभिभावकले प्रहरीमा जाहेरी दिएका थिए ।

अभियोग लागेका अन्य दुई शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विक भने अझै फरार रहेको दासले जानकारी दिए ।

उनीहरूको अहिले खोजी कार्य भइरहेको जनाएको छ ।