काठमाडौं : कोभिडको तेस्रो लहर मत्थर हुँदै गएपनि चुनावी अभियानमा सजकता अपनाउनु पर्ने जनस्वास्थ्यविद्हरुको सुझाव रहेको छ । छिमेकी राष्ट्र भारतमा फेरि कोरोनाको नयाँ भेरियन्ट ‘एक्स ई’ अर्थात् ओमिक्रोनको मिक्सडअप भाइरस फेला परेकाले जनस्वास्थ्यविद्हरुले त्यस्तो सुझाव दिएका हुन् ।

एनसीडीओ दिल्लीले मुम्बईमा एक्स ई भेरियन्ट एक जना पुरुषमा फेला परेको जनाएको छ । नयाँ भेरियन्ट जहाँ पुष्टि भए पनि ढिलोचाँडो एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सम्भावना धेरै हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

स्थानीय तहको निर्वाचन आउन ३१ दिन बाँकी रहँदा चुनावी सरगर्मी बढेको छ । भारतमा देखिएको ओमिक्रोन एक्स ई भेरिएन्ट ओमिक्रोन भेरियन्टभन्दा १० प्रतिशत बढी फैलिन सक्ने भनिए पनि यसबारे थप अध्ययन भइरहेको बताइएको छ ।

यस्तै,यूरोपियन मुलुकमा डेल्टा र ओमिक्रोनको सम्मिश्रण ‘हाइब्रिड’ प्रकारको ‘डेल्टाक्रोन’ भेरियन्टका संक्रमित बढिरहेका छन् ।

चुनाव नजिकिँदै गर्दा गाउँदेखि सहरसम्म जमघट भेला,पार्टी,समारोह नियमित चलिरहेकाले सबैले सावधानी अपनाउनुपर्ने र सङ्क्रमण दर कम भए पनि विश्वबाट कोरोना नहराएकोले ठूला भेला,प्रचार प्रसार,सभा समारोहमा सहभागी हुने शैलीलाई अब परिवर्तन गर्नुपर्ने जनस्वास्थ्यविद्हरु सुझाव दिन्छन् ।

जनस्वास्थ्यविद् डा। शरद वन्त भन्छन्, ‘विश्व स्वास्थ्य संगठनले अझै पनि कोरोना महामारी विश्वबाट निमिट्यान्न भएको घोषणा गरेको छैन । वर्तमान समयमा विविध कारणले नेपालमा संक्रमण कम भएपनि जोखिम कायमै छ भन्ने बुझ्नुपर्ने हुन्छ ।

त्यसैले स्थानीय तह निर्वाचनमा सहभागी हुने सबै जनस्वास्थ्यका मापदण्ड पालना अनिवार्य गर्नुपर्छ ।’

नेपालमा कोरोना संक्रमण दर शून्यमा पुगेको छैन । दुई अंकमा भएपनि संक्रमण पुष्टि भइरहेको हुँदा खोप नै नलगाएकाहरु चुनावी अभियान र चुनावमा सरिक भएमा संक्रमण जोखिम हुने डा। पुन बताउँछन् ।

कोरोना संक्रमणका कुरा मात्रै नभएर ठूलो जमघटमा अन्य संक्रमणजन्य रोगहरु सर्न सक्ने सम्भावना भएकाले अनिवार्य रुपमा मास्क प्रयोग र हातको सरसफाइतर्फ ध्यान दिनु पर्नेमा डा पुनले जोड दिए ।

चुनावमा कम्तिमा अनिवार्य रुपमा मास्क लगाएपनि कोरोना फैलिने सम्भावना कम हुने उनी बताउँछन् ।

चुनावी अभियानमा सहभागी हुनेहरुले कोरोना विरुद्धको खोप अनिवार्य रुपमा लगाउनैपर्ने जनस्वास्थ्यविद् डा। वन्तको सुझाव छ । जनस्वास्थ्य कहिल्यै छाँयामा नपर्ने भएकाले यो परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने मुख्य कुरा भएको उनको भनाइ छ ।

महामारीसँग जुध्न आयोगको तयारी

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले स्थानीय तहका सबै चुनाव केन्द्रमा चुनाव गराउँदा जनस्वास्थ्यका मापदण्ड पालना गराउन निर्देशन दिइसकेको बताएका छन् ।

आयोगले निर्वाचन केन्द्रमा मास्क र सेनिटाइजर पुर्याउने तयारी गरिरहेको उनले सुनाए । आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चुनावमा सहभागी हुनेलाई अनिवार्य रुपमा खोपको व्यवस्था गर्न निर्देशन दिएको पनि उनले जानकारी दिए ।

‘हालको जस्तो संक्रमणको स्थिति रह्यो भने खोप कार्ड पनि आवश्यकता पर्दैन होला,’ प्रवक्ता पौडेलले भने, ‘चुनाव ताकासम्म संक्रमणको अवस्था हेरेर आवश्यक निर्णय गर्ने छौं ।

’ कोरोना महामारीको पहिचान,परीक्षण र उपचारका लागि स्वास्थ्यकर्मी खटाउने,नखटाउने सम्बन्धमा अवस्था हेरेर आयोग अगाडि बढ्ने उनले बताए