काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेहरुका विरुद्धमा सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताएका छन्।

शुक्रबार विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच स्वागत गर्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेहरुका विरुद्धमा देशभरका सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताएका हुन्।

गत वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उनले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताए।

उनले भने, ‘मलाई के विश्वास छ भने केही समय पहिले अलिकति कन्फ्युजन थियो, भ्रम थियो माओवादीको बारेमा। तर अहिले गतसाल जतिबेला संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भयो। प्रतिगामी षड्यन्त्र भयो।

प्रतिक्रान्ति गर्ने षड्यन्त्र भयो। त्यसका विरुद्ध हामीले संघर्ष गर्‍यौँ र हामी त्यसमा सफलता प्राप्त गर्‍यौँ। त्यसैगरी यो देशका मधेशी, थारु, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायको पहिचान र अधिकारको लडाइँ माओवादी केन्द्रले लडेर त्यसलाई स्थापित गरेको हो।

यसलाई उल्ट्याउन खोज्ने तत्वहरुका विरुद्ध फेरी एकचोटी नेपाल राष्ट्रका सम्पूर्ण जनता एकजुट हुने प्रक्रियामा अगाडि बढेको मैले महशुस गरेको छु।’

उनले देशलाई सामाजिक न्याय सहितको समतामुलक बनाउने अभियान माओवादीको रहेको पनि बताए।