काठमाडौं : बिरामी भएकी एक महिलाको कञ्चनपुरमा झारफुकका क्रममा मृत्यु भएको छ।

जिल्लाको बेदकोट नगरपालिका वडा नं। ६ मुसेपानीमा झारफुकको क्रममा महिलाको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

महिलाको मृत्यु भएपछि प्रहरीले धामीझाँक्रीसहित ७ जनालाई पक्राउ गरेको हो । प्रहरीले धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको आशंका गरेका छन् ।

शुक्रबार राति झारफुकका क्रममा ४३ वर्षीया रञ्जुला साउँदको उनकै जेठानीको घरमा मृत्यु भएको हो। मृतक साउँद केही दिनदेखि बिरामी थिइन् ।

शुक्रबार साँझ जेठानी कमलाको घरमा धामीझाँक्री आएपछि झारफुकका लागि उनी पुगेकी थिइन्। सोही क्रममा उनको मृत्यु भएको बताइएको छ।

प्रहरीले धामीझाँक्री भीमदत्त नगरपालिका–७ का धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट, मृतकका देवर र जेठानी कमलासहित ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।