काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले कम अंक ल्याउनेलाई स्वर्णपदक (गोल्डमेडल) प्रदान गर्न लागेको छ । नेपाल प्रहरीका एसपी योगबहादुर पाललाई कम नम्बर ल्याए पनि विश्वविद्यालयले गोल्डमेडल दिन लागेको छ । स्वर्ण पदकको लागि अन्तिम नामावली २०७९ बैशाख १ गतेका दिन दोस्रो पटक संशोधन गर्दा पनि सोही व्यहोरा राखी पूर्वाञ्चल विश्वविद्यालयले ठूलो त्रुटी गरिरहेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको दशौं दिक्षान्त समारोह यही २०७९ बैशाख ४ गते हुन गइरहेकोमा कानून संकायतर्फ एल.एल.एम. २०१८–२०२० ब्याचमा सर्वोकृष्ट अङ्क ल्याउने मनिता गुरुङको एग्रिगेट नम्बर ८३.१२ ल्याई प्रथम श्रेणीमा प्रथम हुन सफल भएकी छन् । तर पनि यस विश्वविद्यालयले योगबहादुर पालको लब्धाङ्कपत्रमा उनको एग्रिगेट नम्बर ७६.२५ ल्याएको भन्ने कुरा पूर्वाञ्चल विश्वविद्यालयको वेभसाईट www.puexam.edu.np मा प्रकाशित गरेको Medal list of exam year 2020 (२०७७) को क्रम संख्या १४ मा योगबहादुर पाललाई स्वर्ण पदकको लागि अन्तिम नामावली २०७९ बैशाख १ गतेका दिन दोस्रो पटक संशोधन गर्दा पनि सोही व्यहोरा राखिएको छ । यसले पूर्वान्चल विश्वविद्यालयको परीक्षा प्रणालीमाथि नै प्रश्न उठाएको छ । विश्वविद्यालयले जानाजान गरेको यो त्रुटिमा मधेश प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसपी पालको पहुँच र प्रभावले पनि काम गरेको आशंका गरिएको छ ।

मनिता गुरुङले शैक्षिक वर्ष २०१८–२० को दुईवर्षे एल.एल.एम. (Business and International Trade law) मा चक्रवर्ती हवी इजुकेशन अफ ल विद्यालयमा अध्ययन गरी २०७८ पुस १८ गतेका दिन विश्वविद्यालयले तोकेको समयभित्रै मौखिक परीक्षा (Viva Voce) समयभित्र पूरा गरी एल.एल.एम. कार्यक्रममा एग्रिगेट ८३.१२% ल्याई प्रथम श्रेणीमा प्रथम भएकी हुन् । तर विश्वविद्यालयले लापरवाही गरी विद्यार्थीको भविष्यमा खेलवाड गरी स्वर्णपदकका लागि पाललाई सिफारिस गरेकोमा पटक–पटक अध्ययन गरेको कलेज तथा विश्वविद्यालयमा व्यक्तिगत निवेदन समेत दिएकी थिइन् । मनिताले २०७८ चैत २८ मा दर्ता नं. ४९ को निवेदन दर्ता गराई दाबी विरोधका लागि जाँदा सम्बन्धित कार्यालयका कर्मचारीहरुलाई २०७८ चैत २२ को स्वर्णपदकको सिफारिसमा त्रुटी भएको र आफूले आफैंले पाएको ८३.१२% को प्रमाण समेत देखाउँदा पनि कर्मचारीहरुले समितिको निर्णयमा कुनै पनि फेरबदल हुँदैन भनी अव्यवहारिक जवाफ दिएर पठाई विद्यार्थीलाई दुःख हैरानी दिइरहेको गुनासो नेपालफेसमा प्राप्त भएको छ ।

८३.१२ ल्याई प्रथम श्रेणीमा प्रथम हुने मनिता गुरुङलाई गोल्ढमेडल नदिई ७६.२५ ल्याउने योगबहादुर पाललाई दिनेगरी पीयुले निकालेको सूचना ।
विश्वविद्यालयको यस्तो कार्यले गर्दा मेहेनती, जेहेन्दार विद्यार्थीको भविष्यमा ठूलो असर पर्ने तथा यसको असरको क्षति विश्वविद्यालयले पनि पूर्ति गर्न नसक्ने हुनाले यसमा सजग गराउँदा पनि अटेर गर्नुको कारणमा केही आर्थिक चलखेलको शंका गर्ने पूर्ण आधार देखिन्छ ।

हुन त पूर्वाञ्चल विश्वविद्यालयको त्यसभन्दा अगाडिका नवौं दिक्षान्त समारोहहरुमा शैक्षिक वर्ष २०१५–२०१७ मा एल.एल.एम.मा उत्कृष्ट प्राप्ताङ्क ल्याउने विनिता पाण्डेलाई नदिई सोफिया अधिकारी जसले कूल ८१% ल्याउनेलाई स्वर्णपदक दिइएकोमा अदालतले २०७७ माघ ८ गतेका दिन विश्वविद्यालयले गरेको गलत कार्यलाई बदर गरी नियम संगत गर्नको लागि फैसला गरेको थियो । त्यसैगरी सातौं दिक्षान्त समारोह एल.एल.एम.को शैक्षिक वर्ष २०१४–१६ मा उत्कृष्ट अङ्क ७७.३८% ल्याउने सुभाष आचार्यलाई नदिई ७६.५०% ल्याउने पूजा खत्रीलाई स्वर्ण पदक दिएर विश्वविद्यालयले विवाद ल्याएको थियो । जसमा सर्वोच्च अदालतको उत्प्रेषण समेतको आदेशले बदर गरी कानूनसम्मत सुभाष आचार्यलाई स्वर्ण पदक दिलाएको थियो । त्यसैगरी नवौं दिक्षान्त समारोहमा २०१४–२०१६ र २०१५–२०१७ को एल.एल.एम.तर्फ क्रमश विनिता पाण्डेको उत्कृष्ट नम्बर हुँदाहुँदै सोफिया अधिकारी र महेन्द्रप्रसाद पौडेलको उत्कृष्ट नम्बर हुँदाहुँदै पूजा खत्रीलाई स्वर्णपदक दिइएकोमा अदालतले उनीहरुलाई पदक प्रदान गर्न इन्कार गरेको सम्बन्धी प्रत्यार्थी पूर्वाञ्चल विश्वविद्यालयको निर्णय, काम, कारवाही तथा सूचना समेत उत्प्रेषणको आदेशले बदर गरेको थियो ।

पूर्वान्चल विश्वविद्यालयले एउटा जेहेन्दार, मिहेनती, लगनशील र इमान्दार विद्यार्थीले म उत्कृष्ट छु भन्ने प्रमाण परीक्षामा सर्वोकृष्ट अंक ल्याई प्रमाणीत गर्दा पनि र विश्वविद्यालयले त्यसको विरुद्ध काम, कारवाही गरिरहेको जानकारी गराउँदा समेत त्यसको बेवास्ता गरी र पटक–पटक अदालतले यस्तो काम नगर्नू, नगराउनू भन्ने आदेश तथा फैसला गर्दा पनि यस्ता कार्य दोहरी रहनुलाई पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा १० बमोजिम बनेको प्राज्ञिक परिषद समितिका पदाधिकारीहरु आर्थिक प्रलोभनमा परेको स्पष्ट देखिन्छ । पूर्वान्चल विश्वविद्यालयले बढी अंक ल्याए पनि गोल्डमेडल पाउने हकबाट बन्चित गरी जेहेन्दार विद्यार्थीलाई हतोत्साही पार्ने कार्य यो पटक पनि गरेको छ ।