एजेन्सी

नयाँ दिल्ली : दक्षिण भारतीय फिल्म ‘केजिएफः च्याप्टर २’ ले निकै राम्रो व्यापार गरिरहेको छ।

तमिल, मलयालम, तेलगु, हिन्दी र कन्नड गरी पाँच भाषामा प्रदर्शन भएको फिल्मले हालसम्म ४२७ करोड ५० लाख भारतीय रुपैयाँ कमाएको भारतीय सञ्चार माध्यम कोइमोइमा उल्लेख छ।

यसबीच फिल्मको हिन्दी संस्करण पनि प्रदर्शन भएको पाँच दिनमा २ सय करोड क्लबमा समावेश भएको छ।

भारतीय बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिनमा ५३ करोड ९५ लाख, दोस्रो दिन ४६ करोड ७९ लाख, तेस्रो दिन ४२ करोड ९० लाख, चौथो दिन ५० करोड ३५ लाख र पाँचौ दिन २५ करोड ५७ लाख कमाइ गरेको छ।

फिल्मले हालसम्म हिन्दी संस्करणमा मात्रै २१९ करोड ५६ लाख भारतीय रुपैयाँ आम्दानी गरेको छ।

‘केजिएफः च्याप्टर २’ को हिन्दी संस्करण हालसम्म कै सबैभन्दा धेरै आम्दानी गर्ने फिल्म पनि बनेको छ। यसअघि सर्वाधिक आम्दानी रहेको फिल्म ‘बाहुबली’ ले चार दिनको प्रदर्शनमा १६८ करोड भारतीय रुपैयाँको कमाएको थियो।

केजिएफः च्याप्टर २’ पिरियड ड्रामा सन् २०१८ मा प्रदर्शनमा आएको ‘केजीएफ’ को सिक्वेल हो। फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन्।

प्रशान्त नीलले निर्देशन गरेको फिल्मलाई हम्बल फिल्म्सले निर्माण गरेका हुन्।