काठमाडौँ : मोटरसाइकलको चक्कामा आफैँले लगाएको सल बेरिँदा लडेर एकजना युवतीको मृत्यु भएको छ।

मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा भएको दुर्घटनामा मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका-८ की २१ वर्षीया रेश्मा नेपाली छन्।

मोटरसाइलबाट खसेर गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार साँझ पौने ७ बजे को ३८ प २२०३ नम्बरको मोटरसाइकल पछाडि सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरिँदा लडेकी थिइन्।

दुर्घटनापछि मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय हरैँचाले नियन्त्रणमा लिएको छ।