काठमाडौं : स्थानीय तहको चुनावका लागि उम्मेदवारी आज पनि दिन सकिने भएको छ।

निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिएको थियो।

आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गर्न सकिन्छ।

आइतबार केही दलका नेता र स्वतन्त्र उम्मेदवारहरूले मात्रै उम्मेदवारी दर्ता गरेका थिए। आयोगका अनुसार आइतबार विभिन्न पदमा गरी देशभर कूल १० हजार पाँच सय ३३ जनाले उम्मेदवारी दर्ता गरेका थिए।

आज भने सत्तागठबन्धन र नेकपा एमालेसहित गठबन्धनबाट उम्मेदवारी दिने तयारी छ।

सत्तारूढ नेपाली कांग्रेसले भने महानगर र उपमहानगरमा मेयर तथा उपमेयरका उम्मेदवार टुंग्याउन सकेको छैन।

केन्द्रीय संसदीय समितिले उम्मेदवार टुंगो लगाउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ।

वैशाख ३० मा स्थानीय तह चुनाव हुँदैछ।