काठमाडौँ : सरकारले प्यासेन्जर भेहिकल र २५० सीसीमाथिका मोटरसाइकल आयातमा रोक लगाएको छ।

वैदेशिक मुद्रा सञ्चितिमा चाप पर्दै गएपछि असार मसान्तसम्म गाडी तथा मोटरसाइकल आयातमा रोक लगाएको हो।

सरकारले पेट्रोल डिजेल इन्जिनका प्यासेन्जर भेहिकल ९कार० आयातमा रोक लगाउँदा विद्युतीय गाडीलाई भने खुल्ला राखेको छ।

त्यसबाहेक एम्बुलेन्स र ढुवानीका सवारीसाधन आयातमा रोक लगाएको छैन। त्यस्तै २५० सीसी कमका मोटरसाइकल आयात पनि खुल्ला गरेको छ।

आयात बन्देज लगाइएका वस्तुहरु नेपालस्थित कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैंले आयात गर्न भने रोक लगाइएको छैन।

त्यस्तै वैशाख १३ गतेअघि बैंकिङ माध्यमबाट आयातको प्रक्रिया सम्पन्न भइसकेका हकमा पनि व्यवस्था लागु नहुने बताएका छन्।

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बैंकहरुको निर्णयभन्दा केही सुधार भएको बताए।

उनले सबै गाडी आयात रोक लगाउँदा डेढ दुई महिनापछि गाडी बजारमा पाउन मुश्किल पर्ने बताए।

‘अब कमर्सियल, विद्युतीय र २५० सीसीभन्दा कमका मोटरसाइकललाई समस्या भएन,’ अध्यक्ष थापाले भने, ‘सबै गाडी आयात बन्द गर्दा अबको डेढ २ महिनापछि गाडी नपाउने समस्या आउने बताए।’

असार मसान्तसम्म गाडी आयात गर्न नपाउने भएपछि असार मसान्तसम्म एलसी नखोल्दा असार, साउन र भदौ महिनामा ग्रहाकले चाहेको गाडी पाउन नसक्ने बताए।

‘असारमसान्तसम्म बन्द गरेर साउन १ गतेबाट खोल्दा गाडी आइहाल्दैनन्’, थापाले नेपालखबरसँग भने, ‘साउनमा एलसी खोली गाडी भदौ मध्यबाट मात्रै आउन थाल्छन्। भदौ मध्यसम्म अहिले एलसी खोलेका गाडीले धान्दैनन्।’

राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले सरकारले रोक लगाएका वस्तुमा अब बैंकबाट एलसी नखुल्ने बताए।

पोखरेलका अनुसार बैंकहरुले आफूअनुकूल एलसी खोल्नसक्ने जानकारी दिए। राष्ट्र बैंकले आयात गर्दा राख्नुपर्ने मार्जिन भने यथावत् छ।

‘राष्ट्र बैंकले आयात हुने वस्तुमा ५० प्रतिशत र शतप्रतिशत मार्जिन राख्ने कुरा अर्को सूचना नआएसम्म यथावत् हुन्छ’, उनले भने, ‘सरकारले रोकेकाबाहेकका वस्तुमा बैंकहरुले एलसी खोल्न रोकेको वस्तु आफूअनुकूल गर्न सक्छन्। क्षमता भएका बैंकले खोल्लान्।’