काठमाडौं :  सत्ता गठबन्धनले एमालेसहित गठबन्धन बाहिरका दलसँग स्थानीय तहमा भएको तालमेल खारेज गर्ने सहमति गरेको छ। बुधबार बसेको सत्ता गठबन्धनको बैठकले यस्तो सहमति गरेको हो।

गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमवेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षर छ।

बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धनभित्रका दलका तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्न निर्देशन दिने निर्णय गरेको छ।

यस्तै नगरपालिका र गाउँपालिकाहरुमा गठबन्धन दलहरुका बीचमा भइसकेको सिट फाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरुबाट दर्ता भएका उम्मेदवारीहरु फिर्ता गर्ने र गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारीहरु फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्नेछन्।