काठमाडौँ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा। आरजु राणा देउवाले स्थानीय तहको निर्वाचबाट आउने परिणामले गठबन्धनमा कुनै असर नपर्ने बताएकी छन् ।

सोमबार धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले अहिलेको गठबन्धन विशेष परिस्थितीमा देशको रक्षा गर्न र संविधान जोगाउन बनेको भन्दै स्थानीय तह निर्वाचनको परिणामले गठबन्धनलाई कुनै असर नगर्ने बताइन् ।

‘चुनाव हारे पनि जिते पनि अहिलेको गठबन्धन निरन्तर चलिरहने छ,’ देउवाले भनिन्, ‘गठबन्धन टुटेमा देश फेरि संकटमा पर्ने निश्चित छ ।’

केन्द्रीय सदस्य देउवाले अहिलेको गठबन्धनका कारण संविधान जोगिएको भन्दै कुनै अप्ठ्यारो नमानि गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह गरिन् ।

‘ओलीले संविधानलाई नै समाप्त पर्न खोजेका बेला त्यसलाई जोगाउन यो गठबन्धन बनेको हो,’ उनले भनिन्, ‘यसलाई सबै कार्यकर्ताले बुझ्नुपर्छ, धेरैले कुरा नबुझेका कारण समस्या भएको देखिन्छ ।’