काठमाडौं : झापामा प्रहरीले एक जना बेहुलालाई पक्राउ गरेको छ।

विवाहमा दाइजोको विषयमा विवाद गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले बेहुलालाई पक्राउ गरेको हो।

प्रहरीले शुक्रबार झापा गाउँपालिका(४ बस्ने २८ वर्षीय बेहुला डेबिट चौधरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।

चौधरीको मेचीनगर नगरपालिका(१५ बस्ने पुष्पलाल राजबंशीकी छोरीसँग विवाह हुँदै थियो।

तर चौधरीले विवाहमा मोटरसाइकल दाइजोमा नदिएको भन्दै विवाद गरेको आरोप छ। विवाद गरेको भन्दै पुष्पालालले उनीविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

त्यसरी जाहेरी परेपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पाठकले बताए।

प्रहरीले चौधरीमाथि विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ।

चौधरीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ। त्यही कार्यालयबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।